होर्मुज जलमार्गमा समुद्री बारुदी सुरुङमा ठोक्किएर तेल ट्यांकरमा आगलागी

अन्तराष्ट्रिय

काठमाडौं । इरानको नौसेनाले होर्मुज जलमार्गको पूर्वी क्षेत्रमा समुद्री बारुदी सुरुङमा ठोक्किएर एउटा तेल ट्यांकरमा आगलागी भएको जनाएको छ । बुधबार भएको घटनामा ट्यांकर विस्फोटपछि आगलागी हुँदा रोकिएको इरानी नौसेनाले जनाएको हो ।

इरानी सेनाको वेबसाइटमा जारी विज्ञप्तिअनुसार उक्त ट्यांकरले आफ्नो पहिचान तथा नेभिगेसन प्रणाली बन्द गरेर जलमार्गको निषेधित क्षेत्रमा प्रवेश गरेको थियो । इरानी नौसेनाले जलमार्गसम्बन्धी निर्देशन र सुरक्षा चेतावनी उल्लंघन गरेका कारण घटना भएको दाबी गरेको छ ।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) नौसेनाले छुट्टै घटनामा तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको पानीजहाज पनि समुद्री बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएको र आगलागी भएको जनाएको छ । उक्त जहाजले पनि आफ्नो जीपीएस प्रणाली बन्द गरेको इरानी पक्षको दाबी छ ।

यसअघि आईआरजीसी नौसेनाले होर्मुज जलमार्गको पूर्वी क्षेत्र तथा दक्षिणी तटीय क्षेत्रमा दुईवटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएर विस्फोट हुँदा आगलागी भएको जनाएको थियो ।

यसैबीच, अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गेजले होर्मुज जलमार्ग हुँदै आवतजावत गर्नु अझैं असुरक्षित रहेको बताएका छन् । मंगलबार उनले तेल, प्राकृतिक ग्यास र तरल पेट्रोलियम ग्यास (एलपीजी) ओसारपसारका लागि उक्त मार्ग प्रयोग गर्ने जहाजले गम्भीर जोखिम मोलिरहेको उल्लेख गर्दै जलमार्गबाट आवतजावत नगर्न आग्रह गरेका थिए ।

उनका अनुसार पछिल्लो समय जहाजमाथि आक्रमणका घटना बढेका छन् । त्यसक्रममा समुद्री कामदार घाइते हुनुका साथै केहीको मृत्यु भएको छ । यस्तो अवस्थामा होर्मुज जलमार्गबाट हुने आवतजावतको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराइरहनुपर्ने उनले बताएका छन् । सीसीटीभी