छायाँदेवी कम्प्लेक्सबारे भ्रम र वास्तविकता

विचार /दृष्टिकोण

छायाँदेवी कम्प्लेक्सबारे भ्रम र वास्तविकता 

सुमन विक्रम पाण्डे 

नेपालमा पछिल्लो समय व्यापारिक कम्प्लेक्स, मल वा सुपरमार्केटहरुमा व्यवसायीहरुले लगानी बढाइरहेका छन् । जसका कारण बजार चलायमान मात्र भएको छैन, राज्यको अर्थतन्त्रमा पनि सहयोग पुगेको छ । देशका ठूला शहरहरुमा यस्ता ब्यापारिक संरचनाहरुको निर्माण तिब्र रुपमा भइरहेको छ । व्यवसायीहरु जसरी उत्साहित छन, सो अनुरुपको व्यवस्थापन र सहजीकरण भने भएको देखिदैन । यतिबेला देश आर्थिक संकट, लगानी अभाव र युवा पलायनको चपेटामा छ । सरकारले एकातिर विदेशी तथा स्वदेशी लगानी भित्राउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, पर्यटन उद्योगलाई पुनर्जीवित गर्ने र लगानीमैत्री वातावरण बनाउने घोषणा गरिरहेको छ । वर्तमान सरकारका प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले ‘निजी क्षेत्र बिना समृद्धि सम्भव छैन’ भन्ने भाषण दोहो¥र्याइरहेका छन् । तर अर्कोतर्फ, कानुनी प्रक्रिया पूरा गरेर निर्माण भएका व्यवसायिक परियोजनाहरू नै वर्षौंदेखि विवाद, प्रचार, मानसिक दबाब र बनावटी भाष्यको निशानामा पर्दा नेपालमा लगानीको भविष्य कस्तो होला ? भन्ने प्रश्न उठ्न थालेको छ ।

काठमाडौं ठमेलस्थित छायाँदेवी कम्प्लेक्स अहिले यही बहसको केन्द्रमा उभिएको छ । कुनै समय नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उचाइ दिने, एकै ठाँउमा विविध पर्यटकीय केन्द्र बनाउने उद्देश्यसहित निर्माण गरिएको आधुनिक व्यवसायिक कम्प्लेक्स अहिले यस्तो प्रचारको घेरामा परेको हो । जसले केवल एउटा भवन वा व्यवसायीलाई मात्र होइन, नेपालको समग्र लगानी, वातावरण र पर्यटन बजारलाई नै प्रभावित पार्ने अवस्था सिर्जना गरेको छ ।

वर्षौंदेखि सामाजिक सञ्जाल, विभिन्न समूह तथा केही अभियन्तामार्फत छायाँ कम्प्लेक्सलाई ‘सम्पदा मिचिएको संरचना’, ‘गुठीको जग्गा माफियाद्धारा कब्जा गरेर बनाइएको भवन’, ‘ठमेलको संस्कृति ध्वस्त पार्ने परियोजना’ जस्ता आरोप लगाइँदै आएको छ । तर भवन निर्माणको समयका सरकारी अभिलेख, अदालतको आदेश, प्रशासनिक स्वीकृति, नक्सा पास, मालपोत अभिलेख र न्यायिक अवस्थालाई हेर्दा कानुनी प्रक्रिया पुरा भएर नै निर्माण भएको हो । छायाँ कम्प्लेक्स कुनै रातारात बनेको वा गैरकानुनी रूपमा ठडिएको संरचना थिएन् । यो परियोजना राज्यकै कानुनी प्रक्रिया, सरकारी स्वीकृति र प्रशासनिक प्रणालीभित्र रहेर निर्माण गरिएको थियो । ठमेल ‘अमृत मार्ग’ अन्य क्षेत्र भन्दा कम व्यवसायिक महत्व रहेको अवस्थामा निर्माण भएको यस व्यापारिक कम्प्लेसले त्यस ठाउँको व्यवसायिक धरातल नै परिवर्तन गरेको छ । स्थानीय भगवान बहाल मन्दिरको संरक्षण तथा पुर्ननिर्माणमा समेत यथेष्ठ सहयोग गरेकाले कम्प्लेस निर्माणप्रति स्थानीयहरु समेत सन्तुष्ट देखिएका छन् । यस्तो अवस्थामा पनि आज धेरै व्यवसायीहरू प्रश्न गर्न थालेका छन । यदि राज्यले स्वीकृति दिएको परियोजना पनि वर्षौंदेखि असुरक्षित रहन्छ भने नेपालमा कसले लगानी गर्ने ?

अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउने सपना

२०६४ सालमा ठमेलमा करिब १२ रोपनी जग्गा बिक्रीका लागि विज्ञापन प्रकाशित भएको पाइन्छ । जंगबहादुर राणाका नाति केशर शम्शेरको परिवारसँग सम्बन्धित सुरेसार्य हाउजिङ नाम गरेको एक कम्पनीले उक्त जग्गा प्लटिङसहित बिक्रीमा राखेको तथ्य छ । ठमेल नेपालको प्रमुख पर्यटन बजार भएपनि त्यसबेला अन्तर्राष्ट्रिय स्तरको आधुनिक पर्यटकीय संरचनाको अभाव रहेकाले यही आवश्यकता देखेर करिब ४५ जना साना तथा ठूला व्यवसायीहरू तथा इच्छुक व्यक्तिहरु एकजुट भएको तथ्य छ ।

उनीहरूको उद्देश्य केवल व्यापार गर्नु मात्र थिएन, ठमेललाई नयाँ स्तरको पर्यटन केन्द्रका रूपमा विकास गर्ने पनि थियो । सस्तो र अव्यवस्थित पर्यटन बजारको छविलाई बदल्दै अन्तर्राष्ट्रिय स्तरको होटल, व्यापारिक केन्द्र, मनोरञ्जन तथा सेवा सुविधा भएको आधुनिक पर्यटन कम्प्लेक्स बनाउनु थियो । २०६५ सालमा ‘छायाँदेवी कम्प्लेक्स’ कम्पनी दर्ता भयो । नेपालको निजी बैंकिङ क्षेत्रका प्रतिष्ठित व्यक्तित्व पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा स्थापना भएको उक्त कम्पनीमा १० लाखदेखि १० करोडसम्म लगानी गर्ने व्यवसायीहरू सहभागी भएर कम्प्लेसको निर्माण भयो ।

परियोजना सुरु गर्नुअघि कानुनले तोकेका सबै प्रक्रिया पूरा गरिएको थियो । काठमाडौं महानगरपालिकाबाट नक्सा पास भयो । वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न, उपत्यका बिकास प्राधिकरणबाट प्लानिङ परमिट पनि लिईएको थियो । स्थानीय स्तरमा सार्वजनिक सुनुवाइका साथै वरपरका बस्तीलाई पर्ने प्रभावबारे सम्पूण प्रक्रिया पूरा गरिएको थियो । त्यसपछि २०६९ सालमा मात्रै निर्माण कार्य सुरु भएको थियो । तर निर्माण सुरु भएर निश्चित लगानी भएपछि अनेकौं प्रपन्च रच्दै विवाद निकालियो ।

कानुनी प्रक्रिया पूरा हुँदा पनि किन रोकिएन विवाद ?

छायाँ कम्प्लेक्स निर्माण सुरु हुनासाथ विभिन्न समूहहरूले निर्माण रोक्न अदालत धाउन थालेको र मुद्दा मामिलामा अल्झाउने प्रयास गरिएको छ । २०७० सालमा भागवत नरसिंह प्रधानसहित केही व्यक्तिले जिल्ला अदालत काठमाडौंमा ‘यो भगवान बहाल गुठीको जग्गा तथा पोखरी क्षेत्र हो’ भन्दै निर्माण तत्काल रोक्न माग गरे । तर त्यो बेला अदालतले निर्माण रोक्न कुनै आदेश दिएन ।

त्यसपछि सार्वजनिक सरोकारका मुद्दा हालिरहने अधिवक्ता दिपक विक्रम मिश्रले ‘यो सरकारी तथा ऐतिहासिक जग्गा हो’ भन्दै सर्वोच्च अदालतमा निर्माण रोक्का आदेश माग्दै मुद्दा दायर गरे । त्यो पनि खारेज भयो । २०७१ सालमा नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले संयुक्त राष्ट्रसंघको ‘आइएलओ १६९’ सन्धिको आधार देखाउँदै ‘यो जनजातीय सांस्कृतिक थलो हो’ भन्दै अर्को मुद्दा दायर गर्यो । ‘आइएलओ १६९’ को सन्धी अनुसार कुनै पनि जनजातीको बस्ती भत्काएर बिकास गर्न नपाइने उल्लेख छ । उक्त मुद्दामा पनि सर्वोच्च अदालतले निर्माण नरोक्ने फैसला गरेको थियो ।

तीनै निवेदनमाथी अदालतबाट निर्माण नरोक्ने आदेश आएपछि मात्रै परियोजनाले गति लिएको थियो । अहिलेसम्म कुनै अदालतले ‘छायाँ कम्प्लेक्स गैरकानुनी संरचना हो’ निर्माण रोक्नु भनेर आदेश गरेको प्रमाण छैन । तर सार्वजनिक बहसमा भने अदालतमा मुद्दा परेको विषयलाई नै ‘अवैधताको प्रमाण’ जस्तो प्रस्तुत गर्दै सामाजिक सञ्जालबाट नै दोषी करार गराउँदै ब्यापारीको मनोबल गिराउने प्रयास गरिनु लगानीकर्तामाथीको प्रहार मात्र हो ।

गुठी, पोखरी र इतिहासका किम्वदन्ती

छायाँदेवी कम्प्लेक्सको जग्गासँग जोडिएको विवादको मुख्य आधार इतिहास, पोखरी र गुठीको प्रसंग बनेको छ । त्यो क्षेत्र कुनै समय भगवान बहाल गुठीसँग सम्बन्धित थियो भन्ने तथ्य इतिहासमा भेटिन्छ । प्राप्त तथ्यहरु अनुसार स्थानीय भगवान सिंह सार्थ बाहु गुठीको नाममा पाँच हजार रोपनी जग्गा थियो । हाल नरसिंह चोकदेखि गल्कोपाखा, पिपलबोट, सडकदेखि पुर्व र छाँया कम्प्लेसदेखि पश्चिम तथा सामाखुशी मनमैजुलगायत नुवाकोटसम्म र देशको अन्य भू–भाग गरी करिब पाँच हजार रोपनी जग्गा थियो । हाल छाँया कम्प्लेस बिरुद्ध मुद्दाका मुख्य पात्र भागवत नरिसिं प्रधानको ठमेल स्थित पुख्र्यौली घर, जग्गा समेत भगवान गुठीकै थियो । पुरानो समयमा त्यहाँ पोखरी रहेको पनि सत्य हो । तर अहिले प्रचार गरिएजस्तो ‘राष्ट्रिय महत्वको सम्पदा’ का रूपमा त्यतिबेला त्यसलाई प्राथमिकता गरिएको थिएन ।

वि.स. १९६७ मा राणा प्रधानमन्त्री चन्द्र शम्शेरको ‘तोक सदर’ बमोजिम तत्कालमा भगवान गुठीको लगतमा रहेको २६ रोपनी जग्गा केशर शम्शेरको दरबारमा गाभिएको हो । उतिबेला राजाको हुकुम प्रमाङ्गी र श्री ३ महाराजको ‘तोक सदर’ मुलुकको कानुन भन्दामाथि हुन्थ्यो । १९७७ मा केशर शम्शेरले अग्लो पर्खालले घेरी दरबारको निजी प्रयोगमा ल्याएपछि कुनै सार्बजनिक क्रियाकलाप तथा बाहिरी व्यक्तिको प्रवेश नभएको कम्प्लेस निर्माण पक्षका व्यक्तिहरु बताउँछन् । जहाँसम्म कमलको फुल टिपेर चढाउने तथा श्राद्धको पीण्ड फाल्ने भन्ने कुरा वि.स. १९६७ अघि खुला जमिन तथा पोखरी भएको अवस्थामा सामान्य कुरा हो । तर स्थानीयहरुले भनेजस्तो पोखरी रहेको सत्य भएतापनि अहिले बाहिर हल्ला गरिएजस्तो ऐतिहासिक पोखरी थिएन् भने विगत ५०, ६० बर्षदेखि नै त्यहाँ सुख्खा जमिन र झाडीको स्वरुपमा थियो भन्ने विभिन्न नक्सा र कानुनी प्रमाण बोल्छ ।

वि.स. १९६७ को ‘तोक सदर’ बाट ‘केशर महल’ मा गाभिएपछि त्यो नितान्त केशर शम्शेरको निजी प्रयोगमा मात्र रहेको थियो । त्यहाँ न कुनै मन्दिर छन, न जात्रा, पर्वको रितिरीवाज नै छ । राणाकालमा राजाको तोक सदर प्रणालीअनुसार वि.सं.१९६७ मा उक्त जग्गा केशर शम्शेरको नाममा गएको अभिलेख पाइन्छ । २०२७ सालपछि दशकौंसम्म अदालत, गुठी संस्थान र मालपोत कार्यालयमा मुद्दा चल्यो ।

२०३० सालमा जिल्ला अदालत काठमाडौंले केशर शम्शेर पक्षलाई जग्गाधनी तथा मोही हकवाला ठहर गर्यो । २०३१ सालमा क्षेत्रीय अदालतले पनि त्यही निर्णय सदर गर्यो । अन्ततः सर्वोच्च अदालतमा २०३३ मा भएको मिलापत्र अनुरुप केशर शम्शेरले जग्गा धनीको हक छोडी मोही मात्र कायम रहेको र जग्गाधनी भगवान सिंह सार्थ बाहु भगवान गुठी कायम रह्यो । २०३९ सालमा आधिकारिक रूपमा केयुर शम्शेरको नाममा लालपुर्जा जारी भयो । तत्कालीन ऐन अनुसार केयुरको श्रीमती अम्बिका राणाले गुठी संस्थानमा नियम बमोजिम रैकर गरिन । बिरोधमा मुद्दा परेपनि २०४८ सालमा जिल्ला र २०५३ सालमा पुनरावेदन अदालतबाट रैकर सदर भयो । २०४६ सालपछि गुठीको जग्गा रैकर गर्न पाउने ऐन तत्कालीन सरकारले ल्याएको थियो । जसअनुरुप मधेश बाहेक नेपाल अधिराज्यभर तीन लाख पचास हजार रोपनी गुठीको जग्गा रैकर भएको थियो । भगवान बहाल गुठीले २०५८ मा फेरी उठाएको खिचलो मुद्दामा वि.स. २०६२ मा गुठीका थकाली तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश हिरन्य मान सिं प्रधानको नेतृत्वमा रु एक करोड पचास लाख र चार आना जग्गा लिएर जिल्ला अदालतमा पुनः मिलापत्र गरिएको थियो । यही जग्गा विभिन्न व्यक्तिमार्फत नामसारी हुँदै वि.स. २०६४ मा सुरेशाय हाउजिङ र शंकर विक्रम शाहसँग हालका व्यवसायीहरूले खरिद गरेको प्रमाण छ । हालसम्म पनि विभिन्न चरणमा निजी प्रयोजनमै जग्गा भएको यथार्थ ठोस प्रमाण र तथ्यहरुले पुष्टि गर्दै वि.स. २०६४ सालमा नेपाल सरकारद्धारा प्रदान गरिएको लालपुर्जा रहेको रैकर जग्गा व्यापारीहरुको समूहले किनेको थियो ।

यदि राज्यले जारी गरेको लालपुर्जाका आधारमा खरिद गरिएको जग्गामा बनेको संरचनालाई दशकौंपछि आएर अवैध भनिन्छ भने राज्यको कानुनी प्रणालीमाथि कसरी विश्वास गर्ने, अनि व्यवसायीले लगानी कुन आधारमा गर्ने ?

सामाजिक सञ्जालमा बनाईएको भाष्य 

छायाँ कम्प्लेक्सविरुद्ध सबैभन्दा धेरै प्रचार सामाजिक सञ्जालमार्फत भएको देखिन्छ । भवनलाई ‘सम्पदा मासिएको संरचना’, ‘ठमेलको संस्कृति नष्ट पार्ने परियोजना’, ‘गुठीमाथिको कब्जा’ जस्ता शब्दावली प्रयोग गरेर चित्रित गरियो । तर उपलब्ध सरकारी कागजात र न्यायिक अवस्थाले ती दाबीलाई ठोस रूपमा पुष्टि गरेको देखिँदैन ।

‘सम्पदा मिचियो’ भन्ने भाष्य बनाएर योजनाबद्ध रूपमा दोहोर्याएर जनधारणा प्रभावित पार्ने प्रयास गरिएको छ । जति बिरोध र अभद्र आक्रमण सामाजिक सञ्जालमा देखिन्छ सम्पदाको पहिलो हकवालाहरु र स्थानीय जनताहरुको कम्प्लेससँग कुनै गुनासो गरेका छैनन् र उनीहरु खुसी नै छन् । छायाँ कम्प्लेसको बिरोध गर्नेहरु खासै ठमेलबासी नभएर अन्य स्थानका व्यक्तिहरुले कानुनी झमेला तथा सामाजिक सञ्जालबाट भ्रमित बनाइरहेको स्थानीय बताउँछन् ।

विरोध सिमित व्यक्तिहरुमार्फत भइरहेकाले छायाँ कम्प्लेससँग कुनै विवाद छैन् भन्ने व्यहोरामा स्थानीय भगवान बाहु गुठीको कार्य समितिले समेत केहि बर्ष अघि आधिकारिक पत्र जारी गरिसकेको छ । यति मात्र होइन, व्यवसायीहरूको दाबी अनुसार छायाँ कम्प्लेक्स सञ्चालनमा आइसकेपछि पनि व्यवसायीहरूलाई अपराधीजस्तो व्यवहार गरिनु लगानीकर्ताको मनोबल गिराउने चाल हो । कतिपय व्यापारीहरू सार्वजनिक आलोचना, मानसिक दबाब र सामाजिक आक्रमणका कारण खुलेर व्यवसाय गर्नै डराउन थालेको गुनासो गर्छन् ।

लगानीकर्तामाथि मनोवैज्ञानिक आतंक

छायाँ कम्प्लेक्स विवादले नेपालमा निजी लगानी कत्तिको सुरक्षित छ ? भन्ने प्रश्नलाई थप गम्भीर बनाएको छ । एकातिर सरकारले लगानी सम्मेलन गर्ने, विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रलाई ‘आर्थिक समृद्धिको साझेदार’ भन्ने र लगानीमैत्री वातावरण बनाउने घोषणा गरिरहेको छ ।

तर अर्कोतर्फ, राज्यकै अनुमति लिएर स्वदेशी उद्यमीद्धारा निर्माण गरिएका परियोजनाहरूलाई वर्षौंदेखि विवादमा तान्ने, सामाजिक रूपमा बदनाम गर्ने, पुराना मुद्दा दोहोर्याइरहने र व्यवसायीहरूलाई मानसिक रूपमा थकित बनाउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । ‘हामीले राज्यले दिएको कानुनी प्रक्रियाअनुसार लगानी गर्यौं । नक्सा पास गर्यौं । कर तिर्यौं । रोजगार सिर्जना गर्यौं । पर्यटन बजार विस्तार गर्यौं । तर अन्त्यमा हामी नै अपराधीजस्तो किन बनाइँदैछ ?’ यसरी लगानीकर्तालाई निरन्तर असुरक्षित महसुस गराउने हो भने भविष्यमा ठूला परियोजनामा कसैले लगानी गर्ने आँट नगर्न सक्छ ।

पर्यटन बजारमै धक्का 

छायाँ कम्प्लेक्स केवल एउटा व्यापारिक भवन होइन । यो ठमेलको पर्यटन अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको परियोजना हो । यसले होटल, व्यापार, मनोरञ्जन, सेवा क्षेत्र र रोजगारी सिर्जनामा भूमिका खेलेको छ । तर वर्षौंदेखि चलिरहेको विवाद र प्रचारले नेपालको पर्यटन बजारमै नकारात्मक सन्देश गएको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई लगानी असुरक्षित, विवादग्रस्त र निजी क्षेत्रप्रति नकारात्मक व्यवहार गर्ने मुलुकका रूपमा चित्रित हुने खतरा बढेको छ । विशेषगरी उद्योग क्षेत्रमा ठूलो लगानी गर्न चाहने समूहहरू यस्ता घटनाबाट निरुत्साहित हुन सक्ने आम ब्यापारीहरुको चिन्ता छ ।

सम्पदा संरक्षण कि भावनात्मक राजनीति ? 

सम्पदा संरक्षण आवश्यक छ । काठमाडौंको ऐतिहासिक र सांस्कृतिक पहिचान जोगाउनु राज्यको दायित्व पनि हो । तर छायाँ कम्प्लेक्स विवादले अर्को प्रश्न पनि उठाएको छ के सम्पदा संरक्षणको नाममा भावनात्मक राजनीति भइरहेको छ ? वास्तविक तथ्य, अदालतका आदेश र सरकारी स्वीकृतिभन्दा बढी भावनात्मक प्रचारलाई प्राथमिकता दिइएको छ । एक पटक कानुनी व्याख्या भई निराकरण भई सकेको बिषय पटक पटक मुद्दा दर्ता गरी कानुनी झमेलामा फसाएर उद्यमीलाई आतकिंत पार्नु ले व्यबसायीलाई झन कमजोर बनाउनु हो । यदि अदालतले अन्तिम फैसला नै नगरेको अवस्थामा कुनै परियोजनालाई सार्वजनिक रूपमा ‘अवैध’ भनेर चित्रित गरिन्छ भने त्यसले केवल व्यवसायीलाई होइन, न्याय प्रणालीलाई समेत कमजोर बनाउँछ ।

कम्प्लेक्स विवादले आज नेपालको लगानी वातावरणबारे गम्भीर बहस जन्माएको छ । यदि कानुनी प्रक्रिया पूरा गरेर, राज्यबाट स्वीकृति लिएर, अदालतबाट निर्माण नरोक्ने आदेश पाएको परियोजना पनि वर्षौंदेखि विवाद, प्रचार र मानसिक दबाबको शिकार बन्ने हो भने नेपालमा निजी क्षेत्रको भविष्य कस्तो हुनेछ भन्ने चिन्ता जन्माएको छ । सम्पदा संरक्षणका नाममा इतिहासका अपुष्ट कथन, भावनात्मक प्रचार र भ्रमपूर्ण भाष्य खडा गरेर व्यवसायीलाई आतंकित बनाउने प्रवृत्ति अन्ततः देशको अर्थतन्त्र, पर्यटन बजार र लगानी वातावरणकै लागि घातक बन्न सक्छ । नेपाललाई लगानीमैत्री बनाउने हो, भने निजी क्षेत्रको लगानीको सम्मान, कानुनी प्रक्रियाको पालना र तथ्यमा आधारित बहसलाई सँगसँगै अघि बढाउन आवश्यक छ । (लेखक पाण्डे सक्रिय पर्यटन व्यवसायी हुन, उनी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को अन्तर्राष्ट्रिय कार्यसमिति सदस्य समेत हुन । यहाँ व्यक्त विचार उनक निजी हुन)