भारतसँग भएका समझदारीले नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने व्यवसायीको विश्वास
काठमाडौं प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका समझदारीले नेपालको पर्यटन विकास र भारतीय पर्यटक आगमन वृद्धि गर्न सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरूले विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्रीको भ्रमण दलमा व्यावसायिक प्रतिनिधिमण्डलका सदस्यका रूपमा सहभागी होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डेले संयुक्त वक्तव्य जारी गर्दै भ्रमणका क्रममा भएका समझदारीलाई पर्यटन प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण बताएका हुन्।
उनीहरूका अनुसार भैरहवा हवाई रुट, अयोध्या–जनकपुर रेल सेवा तथा पर्यटकीय महत्वका विभिन्न सर्किटलाई आपसमा जोड्न सके भारतीय पर्यटकको नेपाल आगमन दोब्बर बनाउन सकिने सम्भावना छ।
दुवै देशका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलबीच भएका छलफल, समझदारी र १० बुँदे अवधारणापत्रमा जनस्तरको सम्बन्ध सुदृढ बनाउन पर्यटन क्षेत्रको भूमिका तथा यसबाट प्राप्त हुन सक्ने आर्थिक समृद्धिलाई महत्व दिइएको संयुक्त वक्तव्यमा उल्लेख छ।
त्यस्तै, नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत बिजनेस राउन्ड टेबलमा पनि द्विपक्षीय पर्यटन प्रवर्द्धनको विषय प्राथमिकताका साथ उठाइएको जनाइएको छ। उक्त कार्यक्रममा दुवै देशका उद्योगी तथा व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल सहभागी थिए।
भ्रमणका क्रममा सहभागी नेपाली पर्यटन व्यवसायीहरूले भारतीय समकक्षी तथा सम्बन्धित सरोकारवालासँग नेपालको पर्यटन विकास, सम्भावना र आपसी व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेको पनि वक्तव्यमा उल्लेख छ।
विशेषगरी अयोध्या–जनकपुर रेल सेवा सञ्चालनसम्बन्धी समझदारीले जनकपुरसहित नेपालको पर्यटन विकासमा महत्वपूर्ण प्रभाव पार्ने व्यवसायीहरूको विश्वास छ। यसको पूर्ण लाभ लिन केन्द्र तथा प्रदेश सरकार र निजी क्षेत्रले योजनाबद्ध रूपमा काम गर्नुपर्ने उनीहरूको सुझाव छ।
जनकपुर आउने भारतीय पर्यटकलाई काठमाडौं, पोखरा, मुक्तिनाथ, चितवन र लुम्बिनीलगायतका गन्तव्यसम्म पुर्याउने गरी पर्यटन प्याकेज तथा भ्रमण सञ्जाल विकास गर्नुपर्ने वक्तव्यमा उल्लेख छ।
त्यसैगरी, भैरहवा नाकामार्फत दुईतर्फी हवाई यातायात सञ्चालन गर्ने सहमतिलाई छिटो कार्यान्वयन गर्न दुवै देशका सरकारसँग व्यवसायीहरूले आग्रह गरेका छन्। उक्त सेवा सञ्चालनमा आए गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत पर्यटन आवागमन विस्तार गर्न सहयोग पुग्ने उनीहरूको अपेक्षा छ।
भ्रमणका क्रममा भएका समझदारी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै व्यवसायीहरूले नेपाल–भारतबीचको व्यापार विस्तार र पर्यटन सहकार्यका लागि विद्यमान नाका तथा व्यवस्थामा आवश्यक सुधार गर्नुपर्ने बताएका छन्। यसबाट दुवै देशका पर्यटन व्यवसायीलाई नयाँ योजना तथा व्यावसायिक अवसर सिर्जना हुनुका साथै भारतीय पर्यटकको आगमन दोब्बर बनाउने लक्ष्य हासिल गर्न सहयोग पुग्ने उनीहरूको विश्वास छ।
प्रधानमन्त्रीको राजकीय भ्रमणमा पर्यटन क्षेत्रका अग्रणी छाता संगठन हान, टान र नाट्टाका अध्यक्षहरूलाई व्यावसायिक प्रतिनिधिमण्डलमा सहभागी गराइएकोप्रति पनि उनीहरूले सराहना व्यक्त गरेका छन्।
संयुक्त वक्तव्यमा होटल संघ नेपालका अध्यक्ष विनायक शाह, टानका अध्यक्ष सागर पाण्डे र नाट्टाका अध्यक्ष भरतजंग पाण्डेको हस्ताक्षर रहेको छ।



