सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको प्रतिस्पर्धात्मक खेल आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
सुर्खेतस्थित कर्णाली रङ्गशालामा आज दिउँसो १ बजे उद्घाटन खेल सञ्चालन हुनेछ । आयोजकका अनुसार उद्घाटन खेल सबै दर्शकका लागि निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको कर्णाली खेलकुद परिषदका सदस्य सचिव रविन्द्र चन्दले बताए ।
कर्णालीमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल तालिकाअनुसार विभिन्न खेलका प्रतिस्पर्धा अगाडि नै सुरु हुन लागेका हुन् ।
पहिलो खेलमै घरेलु मैदानमा उत्रिन लागेको कर्णाली प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उद्घाटन खेल भएकाले पनि यसलाई कर्णालीको खेलकुद उत्सवको सुरुवाती आकर्षणका रूपमा हेरिएको छ ।
कर्णाली प्रदेशले पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुदले प्रदेशको खेलकुद क्षमता, पूर्वाधार र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ ।
हेमन्त केसी, नेपाल न्यूज बैंक



