‘जनतामा बढेको अपेक्षाअनुसार सरकारले काम गर्न सकेको छैन’
काठमाडौं । राजनीतिक परिवर्तन र नयाँ शक्तिको उदयसँगै जनतामा बढेको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको राजनीतिक विश्लेषक डा. लोकराज बरालले बताएका छन् । सरकार गठन भएको केही समय बितिसक्दा पनि सर्वसाधारणले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह, सुशासन र विकासका क्षेत्रमा नयाँपन देखाउन नसकेको उनको विश्लेषण छ ।
पूर्वराजदूत समेत रहेका बरालका अनुसार चुनावका बेला गरिएका प्रतिबद्धता र सरकारको वास्तविक कार्यसम्पादनबीच ठूलो अन्तर देखिन थालेको छ । सय दिनमा सय काम गर्ने घोषणादेखि भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रशासनिक सुधारका प्रतिबद्धता गरिए पनि तिनको कार्यान्वयनको अवस्था स्पष्ट हुन सकेको छैन ।
‘कतिवटा प्रतिबद्धता पूरा भए, कति आयोग गठन भए र ती आयोगका प्रतिवेदन कहाँ पुगे भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्छ,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने भनिएको थियो, भुटानी शरणार्थी प्रकरण र सहकारी ठगीका विषय कहाँ पुगे ? जनताले त्यसको परिणाम खोजिरहेका छन् ।’
उनले सरकारको मूल्यांकन गर्दा नेताहरूको घोषणा वा प्रचारभन्दा पनि सर्वसाधारणको जीवनमा आएको परिवर्तनलाई आधार बनाउनुपर्ने बताए । कर्मचारीतन्त्रमा पहुँच भएका व्यक्तिको काम छिटो हुने तर सामान्य नागरिकले सरकारी कार्यालयमा सहज सेवा नपाउने अवस्था कायम रहेको उनको भनाइ छ ।
विकास निर्माणमा पनि सरकारको कार्यसम्पादन कमजोर रहेको उनले बताए । ठेक्का रद्द हुने, आयोजना अलपत्र पर्ने र पूर्वाधार निर्माणमा ढिलाइ हुने समस्या कायम रहेको उनको अनुभव छ । झापाको कनकाई क्षेत्रको पुल र हुलाकी सडकको उदाहरण दिँदै उनले लामो समयदेखि निर्माण हुन नसकेका पूर्वाधारले सर्वसाधारणको आवागमन र आर्थिक गतिविधिमा असर पारेको बताए ।
यद्यपि, नेपालको विकास नै नभएको भन्ने भाष्यसँग भने बराल सहमत छैनन् । पछिल्ला दशकमा शिक्षा, स्वास्थ्य, सडक, सञ्चार र पूर्वाधारका क्षेत्रमा उल्लेख्य परिवर्तन भएको उनको विश्लेषण छ । देशका विभिन्न जिल्लाको भ्रमण गर्दा विगतको तुलनामा जनताको जीवनस्तर, शैक्षिक पहुँच र पूर्वाधारमा सुधार देखिने उनले बताए ।
‘काठमाडौंमा बसेर केही भएन भन्न सजिलो छ । देश घुम्नुपर्छ, इलाम, ताप्लेजुङ, बैतडी, डडेल्धुरा र डोटी पुगेर विकासको अवस्था हेर्नुपर्छ,’ उनले भने, ‘विगतमा अस्पतालमा सामान्य औषधि र स्वास्थ्य सेवाको पहुँचसमेत सीमित थियो । अहिले अस्पताल, चिकित्सक र शैक्षिक संस्थाको विस्तार भएको छ । यी परिवर्तनलाई पनि हामीले मूल्यांकन गर्नुपर्छ ।’
उनका अनुसार नेपालमा सामाजिक रूपान्तरण पनि क्रमिक रूपमा भइरहेको छ । जातीय विभेद र छुवाछुतजस्ता पुराना सामाजिक संरचना हटाउनुपर्ने भए पनि हजारौँ वर्षदेखि जरा गाडेका सामाजिक मान्यता एकैपटक परिवर्तन नहुने उनले बताए । समाज परिवर्तनका लागि निरन्तर प्रयास र समय आवश्यक पर्ने उनको भनाइ छ ।
नयाँ शक्तिको परीक्षा अझै बाँकी
प्राडा बरालले नयाँ राजनीतिक शक्तिको उदयलाई पुराना दलप्रतिको असन्तुष्टिको परिणामका रूपमा व्याख्या गरेका छन् । पुराना दलका नेताहरूमा भ्रष्टाचार, नातावाद, कृपावाद र सत्ता केन्द्रित राजनीतिक संस्कार हाबी हुँदा जनताले विकल्प खोजेको उनको विश्लेषण छ ।
तर, नयाँ शक्तिका लागि चुनाव जित्नु र जनताको विश्वास कायम राख्नु फरक विषय भएको उनले बताए । नयाँ शक्तिले आफूलाई पुराना दलभन्दा फरक प्रमाणित गर्न नसके जनताको अपेक्षा निराशामा परिणत हुन सक्ने उनको भनाइ छ ।
‘नारा लगाएर चुनाव जित्न सजिलो हुन्छ, तर त्यो जितलाई टिकाउन गाह्रो छ,’ उनले भने, ‘अबको चार वर्षमा के काम हुन्छ भन्ने महत्त्वपूर्ण हो । वैकल्पिक शक्ति स्थापित हुन सकेन भने जनतामा फेरि निराशा बढ्न सक्छ ।’
वर्तमान सरकारको नेतृत्वमा रहेका व्यक्तिमाथि व्यक्तिगत भ्रष्टाचारको आरोप नदेखिनु सकारात्मक पक्ष भएपनि त्यसले मात्र सुशासनको प्रत्याभूति नहुने उनले बताए । सरकारका तल्लो तहका निकाय र कर्मचारीतन्त्रमा पुरानै प्रवृत्ति कायम रहेको गुनासो आउने गरेको उनको भनाइ छ ।
उनले सरकारको काम गर्ने शैलीमा पनि प्रश्न उठाए । अनुसन्धान र कानुनी प्रक्रियालाई पूरा नगरी पक्राउ गर्ने, पक्राउ पर्नुको कारण स्पष्ट नगर्ने र प्रशासनिक संयन्त्रलाई दबाबमा राख्ने प्रवृत्तिले सुशासन स्थापित गर्न नसक्ने उनले बताए । कर्मचारीतन्त्रमा डरको वातावरण बनेको र कर्मचारीले स्वतन्त्र रूपमा काम गर्न नसक्ने अवस्था सिर्जना हुनु पनि चिन्ताको विषय भएको उनको भनाइ छ ।
त्यस्तै, राजदूत, विश्वविद्यालयका पदाधिकारी तथा अन्य महत्त्वपूर्ण सार्वजनिक पदमा नियुक्ति गर्दा योग्यता, अनुभव र सरकारको नीतिप्रतिको प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने उनले बताए । आवेदनका आधारमा मात्र नियुक्ति गर्ने वा राजनीतिक निकटताका आधारमा जिम्मेवारी दिने प्रवृत्तिले संस्थागत क्षमता कमजोर बनाउने उनको तर्क छ ।
नेपाल–भारत सम्बन्धमा भावनाभन्दा आर्थिक कूटनीति
बरालले नेपाल–भारत सम्बन्धलाई सामान्य छिमेकी सम्बन्धका रूपमा मात्र बुझ्न नहुने बताए । दुई देशबीच ऐतिहासिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक र राजनीतिक सम्बन्ध गहिरोसँग जोडिएको उनको भनाइ छ ।
भारतमा नेपाली विद्यार्थीले शिक्षा हासिल गर्ने, उपचारका लागि जाने, सीमावर्ती बजारमा किनमेल गर्ने र रोजगारी तथा व्यापारका लागि आवतजावत गर्ने लामो परम्परा रहेको उनले स्मरण गरे । नेपालको राजनीतिक तथा शैक्षिक विकासमा समेत भारतको प्रभाव रहेको उनको विश्लेषण छ ।
उनका अनुसार नेपाल–भारत सम्बन्धमा समस्या आउनुको एउटा कारण राजनीतिक नेतृत्वले भावनात्मक विषयलाई राजनीतिक लाभका लागि प्रयोग गर्नु हो । सन् १९५० को सन्धि असमान भएको भन्दै दशकौँदेखि बहस भए पनि त्यसबाट ठोस उपलब्धि हासिल हुन नसकेको उनले बताए ।
‘नेपाल–भारत सम्बन्ध अत्यन्त जटिल र व्यापक छ । यसलाई बुझ्न भावनात्मक नाराभन्दा पनि दुई देशबीचको वास्तविक अन्तरनिर्भरता बुझ्नुपर्छ,’ उनले भने । उनले नेपालले भारतसँगको सम्बन्ध सुधार्न आफ्नो आर्थिक क्षमता बलियो बनाउनुपर्नेमा जोड दिए । नेपालको भारतसँग ठूलो व्यापार घाटा हुनुको मुख्य कारण स्वदेशी उत्पादन कमजोर हुनु रहेको उनको विश्लेषण छ । कृषि उत्पादन, फलफूल, जडीबुटी र औद्योगिक वस्तुको उत्पादन तथा निर्यात बढाउन सके व्यापार घाटा घटाउन सकिने उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरेको विकासमुखी कूटनीतिको अवधारणालाई भने उनले सकारात्मक मानेका छन् । तर, त्यसलाई व्यवहारमा उतार्न आर्थिक विकास, उत्पादन वृद्धि र जनताको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
उनले चीनलाई भारतको विकल्पका रूपमा मात्र प्रस्तुत गर्ने राजनीतिक भाष्य पनि व्यावहारिक नभएको बताए । भौगोलिक अवस्थाका कारण चीनसँगको व्यापार र पारवहन सहज नभएको तथा रसुवागढी नाकामा बाढीले पुर्याएको क्षतिले त्यसको संवेदनशीलता देखाएको उनको तर्क छ ।
बरालका अनुसार नेपालको विदेश नीति बलियो बनाउने आधार आन्तरिक आर्थिक क्षमता हो । देशभित्र उत्पादन र निर्यात बढाएर आर्थिक रूपमा सक्षम बन्न सके छिमेकी मुलुकसँगको सम्बन्ध पनि सन्तुलित र प्रभावकारी बनाउन सकिनेछ ।



