नेपाली वैज्ञानिकको कोरोना बिरुद्दको खोपमा डब्लूएचको चासो

विविध

हेटौंडा। विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हेटौंडास्थित त्रिवि वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध बनाउने भनिएको औषधि र प्रयोगशाला सम्बन्धमा चासो लिएको छ।

अध्ययन संस्थानका प्रा.डा. ललितकुमार दासले बनाउने भनेको खोप र त्यसको उपयोगिता सम्बन्धमा डब्लूएचओले हिजो जानकारी लिएको हो।

डब्लूएचओको जेनेभास्थित मुख्यालयले भिडिओ कन्फरेन्समार्फत नेपालसहित ७३ राष्‍ट्रका विज्ञसँग कोरोनाविरुद्ध बनिरहेका औषधि र आवश्यक सहयोगसबन्धमा छलफल गरेको प्रा.डा. दासले जानकारी दिए।

यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि र खोप विवरण डब्लूएचओमा पठाइएको थियो। अध्ययन संस्थानका प्राध्यापक दामोदर गैरेको सहयोगमा डब्लूएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडिओ कन्फरेन्समा डा. दासको समूहलाई छलफलमा बोलाइएको हो।

“पहिले नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्लूएचओसँग त्यसको प्रभावकारिता मूल्यांकनका लागि पहल गरिनेबारे कुराकानी भयो,” प्रा. गैरेले भने।

उक्त खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ‘ट्रायल फन्ड’ प्राप्त हुनेछ।