भारतीय लगानीकर्ताको विश्वास जित्ने प्रयासमा अर्थमन्त्री वाग्ले, लगानी सुरक्षा र नाफा फिर्ताको प्रतिबद्धता

Sticky News अर्थ पूर्वाधार तथा विकास निर्माण

नयाँदिल्ली । नेपालमा लगानीको वातावरण सुधार भइरहेको सन्देश दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई लगानी विस्तार गर्न आग्रह गरेका छन्। उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ता लैजान कानुनी सहजीकरण गर्ने सरकारको प्रतिबद्धता सार्वजनिक गर्दै नेपालमा नयाँ लगानीका लागि आह्वान गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणका क्रममा आइतबार नयाँदिल्लीमा आयोजित नेपाल–भारत निजी क्षेत्रको संयुक्त कार्यक्रममा अर्थमन्त्री वाग्लेले भारतीय लगानीकर्तालाई यस्तो सन्देश दिएका हुन्।

नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा सम्बोधन गर्दै उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा लगानीको सम्भावना रहेको बताए। यी क्षेत्रमा नयाँ लगानी गर्न र नेपालमा पहिलेदेखि लगानी गरिरहेका भारतीय व्यवसायीलाई आफ्नो लगानी विस्तार गर्न उनले आग्रह गरे।

‘सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्दछु,’ उनले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस्। नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।’

अर्थमन्त्रीको सम्बोधनको मुख्य जोड लगानी गर्न आग्रह गर्नुका साथै लगानीकर्ताको चासो सम्बोधन गर्ने सरकारी प्रतिबद्धतामा थियो। उनले नेपालमा लगानी अभिवृद्धि गर्न सरकारले कानुनी सुधारलाई सरल र लगानीमैत्री बनाउँदै लगेको बताए।

लगानीकर्ताका लागि लगानीको सुरक्षा, त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितता र कमाएको नाफा फिर्ता लैजान पाउने व्यवस्थालाई सहज बनाउन सरकारले विशेष पहल गरिरहेको उनको भनाइ थियो। यसबाट भारतीय निजी क्षेत्रलाई नेपालमा लगानी गर्न अनुकूल वातावरण बनिरहेको सन्देश दिन सरकारले खोजेको देखिन्छ।

नेपाल र भारतबीच भौगोलिक निकटता, व्यापारिक सम्बन्ध र ऊर्जा क्षेत्रमा सहकार्यको सम्भावना रहे पनि निजी क्षेत्रको लगानी विस्तारका लागि नीतिगत स्पष्टता र लगानीको प्रतिफल सुनिश्चित हुनु महत्त्वपूर्ण मानिन्छ। अर्थमन्त्री वाग्लेले आफ्नो सम्बोधनमा यिनै विषयलाई प्राथमिकता दिएका छन्।

कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद, सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले पनि सम्बोधन गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री शाहको भ्रमण टोलीसँगै भारत पुगेका नेपाली उद्योगी व्यवसायी, डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी व्यवसायी तथा प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहभागी थिए। सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिको उपस्थितिमा भएको यो छलफललाई नेपालमा भारतीय लगानी आकर्षित गर्ने र दुई देशबीचको आर्थिक सहकार्य विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।