कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षा र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी
नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच शिष्टाचार भेटवार्ता भएको छ। आइतबार नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र द्विपक्षीय सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल भएको हो।
भेटवार्तामा दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायत विषयले प्राथमिकता पाएका थिए। दुवै देशबीच आपसी सहकार्य विस्तार गर्ने र विद्यमान सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।
नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। विशेषगरी व्यापार तथा पारवहन, ऊर्जा सहकार्य र पूर्वाधार विकासका क्षेत्रमा दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्ने विषय भेटवार्ताको एजेन्डामा समेटिएको थियो।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली पुगेका हुन्। उनको भ्रमणलाई नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा उच्चस्तरीय छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी सहभागी छन्। त्यसैगरी निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि भ्रमण टोलीमा छन्।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा राजनीतिक तथा कूटनीतिक भेटघाटसँगै आर्थिक र व्यावसायिक विषयले पनि महत्व पाउने अपेक्षा गरिएको छ। भ्रमण टोलीमा अर्थमन्त्री र व्यवसायीसमेत सहभागी भएकाले नेपालमा भारतीय लगानी आकर्षित गर्ने, व्यापार विस्तार गर्ने र आर्थिक सहकार्यका नयाँ सम्भावना खोज्ने विषयले पनि प्राथमिकता पाउने देखिएको छ।
नेपाल र भारतबीच खुला सीमा, व्यापार, पारवहन, ऊर्जा, पर्यटन, शिक्षा तथा सांस्कृतिक सम्बन्धका क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ। पछिल्लो समय दुई देशबीच विद्युत् व्यापार, प्रसारण लाइन, सडक तथा रेलमार्ग सम्पर्क र व्यापार सहजीकरणका विषय पनि महत्वपूर्ण बन्दै आएका छन्।
प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा विभिन्न कार्यक्रम तथा उच्चस्तरीय भेटघाटमा सहभागी हुने कार्यक्रम छ। दुईदिने राजकीय भ्रमण पूरा गरी उनी मंसिर ७ गते सोमबार साँझ स्वदेश फर्कने तालिका रहेको छ।




