नेपाल–भारत सम्बन्ध ‘दुई दाजुभाइको नाभी जोडिएजस्तै’ : भारतीय पूर्वप्रहरी प्रमुख वैद

राजनीति

काठमाडौं । भारत र नेपालबीचको सम्बन्ध दुई दाजुभाइको नाभी जोडिएजस्तै रहेको भारतका पूर्वप्रहरी अधिकारी एसपी वैदले बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई पुनर्जीवित गर्दै रणनीतिक साझेदारी थप बलियो बनाउने उनले अपेक्षा गरेका छन् ।

भारतको जम्मु–कश्मीरका पूर्वप्रहरी महानिर्देशक वैदले नेपाल र भारतबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, सामाजिक र परम्परागत सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशका नागरिकलाई एकअर्काको मुलुकमा भिसाबिना आवतजावत गर्ने सुविधा रहेको बताए ।

भारतीय समाचार संस्था एएनआईसँग नयाँदिल्लीमा कुरा गर्दै उनले नेपाल र भारतको सम्बन्धलाई ऐतिहासिक र सभ्यतागत आधारले जोडेको बताए । तर, विगत केही वर्षमा विभिन्न कारणले दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको उनको टिप्पणी छ ।

उनले नेपालमा कम्युनिस्ट प्रभाव बढ्नु, चीनको हस्तक्षेप तथा कम्युनिस्ट पार्टीलाई चीनबाट सहयोग प्राप्त हुनु र पाकिस्तानको गुप्तचर संस्था आईएसआईले खुला सीमाको दुरुपयोग गर्नुले सम्बन्धमा असर पारेको आरोप लगाए । सन् १९९९ मा भएको इन्डियन एयरलाइन्सको आईसी–८१४ विमान अपहरणको घटना उल्लेख गर्दै उनले अपहरणकारीले नेपालको भूमि प्रयोग गरेको र पाकिस्तानको आईएसआईले नेपालमा आफ्नो सञ्जाल विस्तार गरेको दाबी गरे ।

प्रधानमन्त्री शाह नेतृत्वमा नयाँ सरकार आएपछि भारतसँगको पुरानो सम्बन्ध पुनर्जीवित हुने र रणनीतिक साझेदारी थप सुदृढ हुने आफूले अपेक्षा गरेको उनले बताए ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ र २३ मा भारतको राजकीय भ्रमणमा छन् । गत मार्च २०२६ मा प्रधानमन्त्री बनेपछि उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । यसअघि दुई प्रधानमन्त्रीबीच टेलिफोन संवाद र सन्देश आदानप्रदान भए पनि यो पहिलो प्रत्यक्ष भेट हुनेछ ।

भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नेछन् । विकास साझेदारी, ऊर्जा, जलविद्युत्, रेलमार्ग, कनेक्टिभिटी, पूर्वाधार, प्रविधि, जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा सहकार्य विस्तार गर्ने विषय छलफलमा प्राथमिकतामा रहनेछन् ।

ऊर्जा र व्यापारमा भारत नेपालको प्रमुख साझेदार

भारत नेपालको सबैभन्दा ठूलो व्यापार, पारवहन र लगानी साझेदार हो । नेपालका वस्तु निर्यातमध्ये करिब ८० प्रतिशत भारत जाने गरेको र नेपालले प्राप्त गर्ने प्रत्यक्ष वैदेशिक लगानीमा भारतको हिस्सा करिब एकतिहाइ रहेको एएनआईले जनाएको छ ।

ऊर्जा सहकार्यलाई पनि भ्रमणको महत्वपूर्ण विषयका रूपमा हेरिएको छ । नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने लक्ष्यसहित दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ ।

हाल भारतले नेपालबाट वार्षिक करिब १ हजार २०० मेगावाट विद्युत् आयात गरिरहेको छ । भारतीय कम्पनीहरू नेपालका विभिन्न जलविद्युत् आयोजनाको विकासमा समेत संलग्न छन् । ९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजना त्यसको प्रमुख उदाहरण हो ।

रेलमार्ग र डिजिटल कनेक्टिभिटीमा सहकार्य

नेपाल र भारतबीच सीमापार रेलमार्ग, पेट्रोलियम पाइपलाइन तथा एकीकृत जाँच चौकी निर्माणमार्फत व्यापार र नागरिक आवागमन सहज बनाउने काम भइरहेको छ । रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको सम्भावनाबारे पनि दुवै देशले छलफल गर्दै आएका छन् ।

यसैगरी, अयोध्या र जनकपुरधामलाई जोड्ने यात्रुवाहक रेल सेवा सञ्चालनले धार्मिक पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतले नेपालका ७४ जिल्लामा ६०० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत सहयोग गरेको छ । सडक, रेलमार्ग, जलविद्युत् र प्रसारण पूर्वाधार विकासमा समेत भारतको सहयोग रहेको छ ।

गत अगस्ट २०२६ मा नेपालमा आएको बाढीपछि भारतले करिब १४० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराउनुका साथै प्राविधिक सहयोगसमेत गरेको थियो ।

दुई देशबीच डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (एआई), स्टार्टअप, शिक्षा र खेलकुद क्षेत्रमा पनि सहकार्य विस्तार भइरहेको छ । भारतको यूपीआई र नेपालको फोनपेको अन्तरआबद्धताले सीमापार डिजिटल भुक्तानी सहज बनाएको छ ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सम्पन्न केही परियोजनाको भर्चुअल उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । साथै, विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यसम्बन्धी समझदारीपत्र तथा अन्य दस्तावेज आदानप्रदान हुने अपेक्षा गरिएको छ । एएनआई