काठमाडौँ । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत एसँग लज्जास्पद हार बेहोरेको छ। शुक्रबार राति कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो।
भारत एले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमै २६ रनमा अलआउट भयो। नेपालको ब्याटिङ निकै कमजोर रह्यो। टोलीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पवन सर्राफले सर्वाधिक ६ रन बनाए।
नेपालको ब्याटिङ ध्वस्त पार्ने क्रममा भारतका प्रिन्स यादवले ५ विकेट लिए। हर्षित रानाले ४ विकेट लिँदा शाहबाज अहमदले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत एले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको थियो। भारतका कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय इनिङ खेलेपछि भारतले बलियो योगफल तयार पारेको थियो।
कुशाग्रले १०२ बलमा ११७ रन बनाए। उनले आफ्नो इनिङमा १० चौका र ५ छक्का प्रहार गरे। कप्तान तिलकले ११३ बलमा १०७ रन बनाए। उनले ६ चौका र ४ छक्का प्रहार गरे।
एक समय ४२ रनमा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई कुशाग्र र तिलकले सम्हालेका थिए। यी दुईले चौथो विकेटका लागि २०६ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए।
त्यसपछि सुर्यांश सेड्गेले आक्रामक ब्याटिङ गर्दै १४ बलमा अविजित ३६ रन बनाए। ओपनर वैभव सूर्यवंशीले २६ रन जोडे।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान ३ विकेट लिए। नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट लिए।
भारत एसँगको हारसँगै नेपालले प्रतियोगिताको सुरुवात निराशाजनक रूपमा गरेको छ। नेपालले अब दोस्रो खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ।



