तीन महिनामै ३ खर्बको शोधनान्तर बचत, प्रत्यक्ष वैदेशिक लगानी १३८ प्रतिशत बढ्यो

Headlines आर्थिक

चालु खाता बचत २ खर्ब ७९ अर्ब पुग्यो, सेयर पुँजीका रूपमा आएको विदेशी लगानी ४ अर्ब १४ करोड

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म देशमा भित्रिने विदेशी मुद्रा बाहिरिनेभन्दा बढी हुँदा शोधनान्तर बचत अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको हो। गत वर्षको पहिलो तीन महिनामा शोधनान्तर बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा चालु खाता पनि २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब ३८ अर्ब रुपैयाँ थियो। अमेरिकी डलरमा चालु खाता बचत १ अर्ब ६९ करोडबाट बढेर १ अर्ब ८२ करोड पुगेको छ।

रेमिट्यान्सलगायतका स्रोतबाट विदेशी मुद्रा भित्रिने क्रम बढ्दा बाह्य क्षेत्रको बचत थपिएको हो। राष्ट्र बैंकको तथ्याङ्कअनुसार अमेरिकी डलरमा शोधनान्तर बचत पनि अघिल्लो वर्षको १ अर्ब ८८ करोडबाट बढेर १ अर्ब ९८ करोड पुगेको छ।

यसै अवधिमा प्रत्यक्ष वैदेशिक लगानीमा पनि उल्लेख्य वृद्धि भएको छ। पहिलो तीन महिनामा सेयर पुँजीका रूपमा ४ अर्ब १४ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब ७४ करोड रुपैयाँ थियो। यसअनुसार प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ४० करोड रुपैयाँ अर्थात् १३७.९ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा सेयर पुँजीका रूपमा आएको प्रत्यक्ष वैदेशिक लगानी मात्रै समावेश छ। त्यसैले यो रकमलाई कुल विदेशी लगानी वा नयाँ परियोजनामा भएको वास्तविक लगानीका रूपमा बुझ्न मिल्दैन। विदेशी लगानीको प्रभाव नयाँ उद्योग स्थापना, उत्पादन विस्तार र रोजगारी सिर्जनामा परेको योगदानबाट पनि मूल्याङ्कन गर्नुपर्छ।

तर, खुद पुँजीगत ट्रान्सफर भने घटेको छ। समीक्षा अवधिमा यस्तो रकम २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ५५ करोड रुपैयाँ थियो। यसरी प्रत्यक्ष वैदेशिक लगानी बढे पनि पुँजीगत ट्रान्सफर घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।