काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन् ।
राष्ट्रिय भेलाको दोस्रो दिन नेता भण्डारीले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी हुन् । ‘भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन’, उनले भने ।
गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा व्यहोर्नुपरेको धक्काबाट कार्यकर्तामा केही निराशा उत्पन्न भएको भए त्यसबाट मुक्त हुन उनले बताइन् ।
उनले भनिन्, ‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’
भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे प्रष्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउन फर्किएको बताइन् ।
राष्ट्रपतिको सर्वोच्च संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रवद्र्धनमा भूमिका खेलेको उल्लेख गर्दै उनले भनिन्, ‘मैले राष्ट्रपतिको सर्वोच्च ओहोदा हासिल गरिसकेकाले अब कुनै पनि पदप्रति लोभ छैन।’



