नेपाल संवत् ले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाओस् : उपराष्ट्रपति यादव

Headlines समाचार

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन्।

नेपाल संवत् ११४७ को शुभारम्भका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाले लोककल्याणको भावनाबाट प्रेरित भई पीडित जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित गरेको उल्लेख गरेका छन्।

साख्वाले देखाएको मानवतावादी मार्ग आज पनि राष्ट्रिय जीवनका लागि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको उनको भनाइ छ।

नेपाल संवत्ले विगतको गौरव स्मरण गराउँदै वर्तमानलाई जिम्मेवार ढङ्गले आत्मसात् गर्न र भविष्यलाई अझ उज्यालो बनाउन प्रेरणा दिने उनले बताएका छन्।

उनले यस मौलिक संवत्ले नेपालीबीच पारस्परिक विश्वास, सामाजिक सद्भाव, सहयोग, शान्ति र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

साथै, युवा पुस्तामा सिर्जनशीलता, उद्यमशीलता र राष्ट्रनिर्माणप्रतिको प्रतिबद्धता विकास गर्दै लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रिय हितको संरक्षण र संवर्द्धनमा सबैलाई जिम्मेवार बन्न प्रेरित गरोस् भन्ने कामना गरेका छन्।