त्रिभुवन विमानस्थलमा लाइभ फिड सुरु, यात्रुले आगमन कक्षबाटै हेर्न सक्नेछन् ब्यागेजको अवस्था

समाचार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउन ‘लाइभ फिड’ सेवा सुरु गरिएको छ। अब अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुले आगमन कक्षबाटै आफ्नो सामान विमानबाट झारेर ब्यागेज बेल्टसम्म ल्याउने प्रक्रिया प्रत्यक्ष हेर्न सक्नेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विमानस्थलको यात्रु आगमन कक्षमा रहेको लगेज संकलन क्षेत्रमा लाइभ फिड सेवा सञ्चालनमा ल्याइएको हो।

नयाँ व्यवस्थाले यात्रुलाई आफ्नो सामानको अवस्था बुझ्न र ब्यागेज प्राप्त गर्न लाग्ने समय अनुमान गर्न सहज हुने अपेक्षा गरिएको छ। यसअघि यात्रुले विमानबाट सामान झारिएपछि ब्यागेज बेल्टमा आइपुग्नुपर्ने समयबारे प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन।

लाइभ फिडमार्फत ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षबाटै देख्न सकिने भएपछि सामान कुरेर बस्ने यात्रुको प्रतीक्षा थप सहज हुने मन्त्रालयको विश्वास छ।

यात्रु सेवाको गुणस्तर सुधार, सेवा प्रवाहमा पारदर्शिता र आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यले सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ।