काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा थप हकप्रद सेयर लगानी गर्ने सरकारको निर्णयले बुधबार सेयर बजारमा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल रिको सेयर मूल्य १२० रुपैयाँ २० पैसा बढेर ९२१ रुपैयाँ ७० पैसा पुगेको छ । यही कम्पनीको उछाल र अन्य केही कम्पनीमा भएको खरिदबिक्रीले बजारको कारोबार रकम साढे ७ अर्ब रुपैयाँ नजिक पुर्याएको छ ।
बुधबार नेप्से परिसूचक भने १.४० अंकले मात्रै बढेर २६६५.५३ विन्दुमा बन्द भएको छ । अघिल्लो दिन पनि सामान्य बढेको बजारले यस दिन पनि सोही गति कायम राखेको हो । तर, कारोबार रकम मंगलबारको ५ अर्ब ६५ करोड रुपैयाँबाट बढेर ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
यस दिन ३५८ कम्पनीका २ करोड १२ लाख २३ हजार कित्ता सेयर ५९ हजार १८५ पटकको कारोबारमा किनबेच भएका छन् । कारोबार रकम बढे पनि बजारका अधिकांश उपसमूहमा गिरावट देखिएको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा सरकारको थप हकप्रद सेयर लगानी गर्ने निर्णयपछि कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको हो । यस दिन नेपाल रिको मूल्य १३.०४ प्रतिशत बढेको छ । हिमालयन रि इन्स्योरेन्सको मूल्य पनि साढे ११ प्रतिशत र श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको साढे ८ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन पहिलो स्थानमा रहेको छ । कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ३६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये चारको परिसूचक बढेको छ भने नौ वटाको घटेको छ । अन्य उपसमूह सबैभन्दा धेरै ६.१८ प्रतिशत बढेको छ । व्यापार उपसमूह पनि एक प्रतिशतभन्दा बढीले उकालो लागेको छ । जीवन बीमा र म्युचुअल फन्ड उपसमूहमा सामान्य वृद्धि देखिएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.४४ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९९ अंकले घटेका छन् । कारोबारमा आएको सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य भने सबैभन्दा धेरै ६.३४ प्रतिशत घटेको छ ।



