नेप्सेमा ३२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

Headlines बैंक/वित्त

१३ वटै उपसमूहका परिसूचक राताम्मे, विकास बैंकमा सबैभन्दा धेरै १.८८ प्रतिशतको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन शुक्रबारदेखि सुरु भएको करेक्सनले सोमबार पनि निरन्तरता पाउँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६५ अंक घटेर २६५७.५० विन्दुमा झरेको छ।

यस दिन नेप्से १.२१ प्रतिशत घटेको हो। सेन्सेटिभ इन्डेक्स ५.९३ अंक, फ्लोट इन्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९८ अंक घटेका छन्।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। शुक्रबार ८ अर्ब ८९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। यस दिन ३४३ कम्पनीका १ करोड ९८ लाख २२ हजार कित्ता सेयर ७० हजार २२८ पटकको कारोबारमा किनबेच भएका छन्।

बजार घटे पनि बेनी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै १३.५८ प्रतिशत बढेको छ। १३ प्रतिशत बोनस सेयर घोषणा गरेको मकर जितुमाया सुरी हाइड्रोपावरको मूल्य ८.७७ प्रतिशत बढेको छ। त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.४७ प्रतिशत बढेको छ। कारोबारमा आएको सानिमा लार्ज क्याप फन्डको इकाइ मूल्य भने करिब ५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको करिब २९ करोड ५० लाख र कुमारी बैंकको करिब २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

यस दिन सबै १३ उपसमूहका परिसूचक घटेका छन्। विकास बैंक उपसमूह सबैभन्दा धेरै १.८८ प्रतिशत घटेको छ। बैंकिङ, वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहमा पनि १ प्रतिशतभन्दा बढी गिरावट आएको छ।