वाणिज्य बैंकको खराब कर्जा ५.६४ प्रतिशत पुग्यो, प्रभु बैंकको १४.८ प्रतिशत

Headlines बैंक/वित्त

एक वर्षमा औसत खराब कर्जा ०.७८ प्रतिशत बिन्दुले बढ्यो, आठ बैंकले भने घटाए

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा (एनपीएल) बढेर ५.६४ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ४.८६ प्रतिशत थियो। एक वर्षमा खराब कर्जा ०.७८ प्रतिशत बिन्दुले बढेको हो।

२० वाणिज्य बैंकमध्ये १२ वटाको खराब कर्जा बढेको छ भने आठ वटाले घटाएका छन्। सबैभन्दा बढी खराब कर्जा प्रभु बैंकको १४.८० प्रतिशत पुगेको छ। गत वर्ष असोजमा ५.७८ प्रतिशत रहेको बैंकको खराब कर्जा एक वर्षमा ९.०२ प्रतिशत बिन्दुले बढेको हो।

खराब कर्जा बढी हुने बैंकमध्ये एनआईसी एसिया दोस्रो स्थानमा छ। यसको खराब कर्जा ६.९९ प्रतिशतबाट बढेर ९.८१ प्रतिशत पुगेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ६.६३ प्रतिशतबाट बढेर ८.८७ प्रतिशत र कुमारी बैंकको ६.९८ प्रतिशतबाट बढेर ८.७२ प्रतिशत पुगेको छ।

हिमालयन बैंकको खराब कर्जा ७.३९ प्रतिशतबाट बढेर ७.९८ प्रतिशत र प्राइम कमर्सियल बैंकको ५.८६ प्रतिशतबाट बढेर ७.१५ प्रतिशत पुगेको छ। त्यस्तै, लक्ष्मी सनराइज बैंकको ५.५८ प्रतिशत, एनएमबी बैंकको ४.९२ प्रतिशत, कृषि विकास बैंकको ४.७९ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३.८९ प्रतिशत पुगेको छ।

केही बैंकले भने खराब कर्जा घटाएका छन्। सानिमा बैंकले सबैभन्दा बढी १.०५ प्रतिशत बिन्दुले घटाएर २.८६ प्रतिशतमा झारेको छ। नेपाल बैंकको खराब कर्जा ५.४९ प्रतिशतबाट घटेर ४.६१ प्रतिशत पुगेको छ। ग्लोबल आइएमई बैंकको ४.७९ प्रतिशत, नबिल बैंकको ४.०६ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.९७ प्रतिशत र सिद्धार्थ बैंकको ३.७० प्रतिशतमा झरेको छ।

एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.५० प्रतिशत छ। गत वर्ष ०.७४ प्रतिशत रहेको यसको खराब कर्जा ०.२४ प्रतिशत बिन्दुले घटेको हो। स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.८३ प्रतिशत र नेपाल एसबीआई बैंकको ३.१९ प्रतिशत पुगेको छ।

खराब कर्जा बढ्दा बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाका लागि बढी रकम छुट्याउनुपर्ने हुन सक्छ। यसले सञ्चालन तथा खुद नाफामा दबाब सिर्जना गर्नुका साथै आगामी दिनमा लाभांश वितरण क्षमतामा समेत असर पार्न सक्छ।