८ दिनका लागि निक्षेप संकलन गर्न लागेको केन्द्रीय बैंकले आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्ने
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज कात्तिक १२ गते १५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त रकम ८ दिनका लागि खिच्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । यसमा सहभागी बैंक तथा वित्तीय संस्थाले आफूले निक्षेपका रूपमा राख्न चाहेको रकम र माग गरेको ब्याजदर उल्लेख गरी बोल पेस गर्नुपर्नेछ । निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन् । संकलित निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक २० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर माग गर्ने बोलपत्रलाई पहिलो प्राथमिकता दिनेछ । त्यसपछि क्रमशः बढी ब्याजदर माग गरिएका बोलपत्रलाई आह्वान गरिएको रकम पूरा नहुँदासम्म बाँडफाँट गरिनेछ । समान ब्याजदरमा आह्वान गरिएको रकमभन्दा बढी माग भएमा समानुपातिक रूपमा रकम बाँडफाँट गरिने व्यवस्था छ ।
स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी छुट्टै निक्षेप खातामा जम्मा गरिनेछ । अवधि पूरा भएपछि साँवा र निर्धारित ब्याज सम्बन्धित संस्थाको राष्ट्र बैंकस्थित खातामा भुक्तानी गरिनेछ ।
निक्षेप संकलन उपकरणमा राखिएको रकमलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने अनिवार्य तरलता अनुपात र वैधानिक तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था छ ।
यस उपकरणको अवधि पूरा हुनुअघि निक्षेप फिर्ता लिन वा समयअगावै भुक्तानी गर्न पाइने छैन । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी रकम थुप्रिँदा त्यसको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ ।



