जलविद्युत् उपसमूहमा सबैभन्दा धेरै वृद्धि, १३ मध्ये १२ उपसमूहको परिसूचक बढ्यो
काठमाडौं । सेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ विन्दुमा पुगेको छ । अघिल्लो दिन सामान्य उतारचढावमा सीमित बजारमा यस दिन कारोबार रकमसमेत बढेको छ ।
मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन ३४८ कम्पनीका १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर ६३ हजार ७४४ पटकको कारोबारमा किनबेच भएका छन् ।
नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स ६.३२ अंक, फ्लोट इन्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३९ अंकले बढेका छन् ।
जलविद्युत् उपसमूहमा सबैभन्दा धेरै वृद्धि
बुधबार १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने व्यापार उपसमूह सामान्य अंकले घटेको छ । जलविद्युत् उपसमूहको परिसूचक सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ ।
बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन् । यसले बजारको वृद्धि केही सीमित कम्पनीमा मात्र नभई अधिकांश उपसमूहमा फैलिएको देखाउँछ ।
बेनी हाइड्रोपावरमा सकारात्मक सर्किट
कम्पनीगत कारोबारमा बेनी हाइड्रोपावरको सेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा पुगेको छ । कम्पनीको सेयरमूल्य ७० रुपैयाँले बढेर ५३६ रुपैयाँ ७० पैसा पुगेको छ ।
बुटवल पावर कम्पनीको सेयरमूल्य साढे १० प्रतिशतभन्दा बढीले बढेको छ । सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयरमूल्य पनि ६ प्रतिशतभन्दा बढीले बढेको छ । मूल्य घटेका कम्पनीको गिरावट भने ३ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबारमा लिबर्टी इनर्जी अगाडि
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको ३२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
घलेम्दी हाइड्रोको २८ करोड रुपैयाँभन्दा बढी र बुटवल पावर कम्पनीको करिब २६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।



