तीन महिनामा निर्यात ५७ प्रतिशत बढ्दा पनि व्यापार घाटा ३४ प्रतिशतले उकालो

Headlines आर्थिक

आयात ३८ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब रुपैयाँ नाघ्यो, व्यापार घाटा ५ खर्ब ३२ अर्ब रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको निर्यात ५७.०३ प्रतिशतले बढेको छ । तर, आयातको आकार निर्यातभन्दा ठूलो रहेकाले यस अवधिमा व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्म ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको आयात भएको थियो । यस वर्ष आयात ३८.१८ प्रतिशतले बढेको हो ।

यस अवधिमा निर्यात भने १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो तीन महिनामा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । निर्यातको वृद्धिदर आयातभन्दा उच्च भए पनि आयातको कुल रकम धेरै भएकाले व्यापार घाटा घट्न सकेको छैन ।

पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ थियो । कुल व्यापारमा आयातको हिस्सा ८४.९८ प्रतिशत र निर्यातको हिस्सा १५.०२ प्रतिशत रहेको छ ।

गत वर्षको पहिलो तीन महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशत थियो । यस वर्ष यो हिस्सा बढेको छ । त्यस्तै, आयात र निर्यातको अनुपात ६.४३ बाट घटेर ५.६६ मा झरेको छ । यसले निर्यातको तुलनामा आयातको अन्तर केही घटेको देखाए पनि समग्र व्यापार घाटा भने बढेको छ ।