बुटवल । चाडपर्व खर्च नपाएको भन्दै कर्मचारीबाट गुनासो आएपछि श्रम तथा रोजगार कार्यालय बुटवलको निर्देशनमा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्च भुक्तानी गरेको छ।
रुपन्देहीको बुटवलस्थित गैरनाफामूलक संस्थाद्वारा सञ्चालित अस्पतालले २४० जना कर्मचारीलाई कुल ४२ लाख ५४ हजार रुपैयाँ बराबरको चाडपर्व खर्च तथा सेवा सुविधासम्बन्धी रकम भुक्तानी गरेको विवरण श्रम तथा रोजगार कार्यालयमा पेस गरेको हो।
कर्मचारीले चाडपर्व खर्च नपाएको भन्दै गुनासो गरेपछि श्रम तथा रोजगार कार्यालय बुटवलले २०८३ असोज ३० गते अस्पताललाई पत्र पठाउँदै कानुनबमोजिमको रकम भुक्तानी गर्न निर्देशन दिएको थियो। श्रम कार्यालयले श्रम ऐन, २०७४ को दफा ३७ उल्लेख गर्दै प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चबापत पाउनुपर्ने व्यवस्था स्मरण गराएको थियो। साथै, एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई उनीहरूले काम गरेको अवधिको अनुपातमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने कानुनी प्रावधानसमेत पत्रमा उल्लेख गरिएको थियो।
अस्पतालले श्रम कार्यालयलाई २०८३ कात्तिक ९ गते पठाएको जवाफमा कर्मचारीहरूलाई असोज २९ गते नै एक महिनाको आधारभूत पारिश्रमिक बराबरको दसैँ खर्च भुक्तानी गरिसकेको जनाएको छ। भुक्तानीको प्रमाणस्वरूप अस्पतालले बैंकिङ कारोबारका प्रमाणित विवरणसमेत कार्यालयमा पेस गरेको छ।
अस्पताल प्रशासनले गैरनाफामूलक रूपमा सञ्चालित स्वास्थ्य संस्थाले कर्मचारीको हकहित र सुविधाप्रति प्रतिबद्ध रहँदै चाडपर्व खर्च भुक्तानी प्रक्रिया सम्पन्न गरेको जनाएको छ।



