भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित

Headlines समाचार

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले बाढीबाट भएको क्षति सामान्य विपत्ति नभई महाविपत्तिको अवस्था बनेको बताएका छन् । उनले खानेपानी योजना क्षतिग्रस्त भएपछि विदुर नगरपालिकाका ५ हजारभन्दा बढी घरधुरीका ३० हजारभन्दा बढी मानिस खानेपानीको समस्याबाट प्रभावित भएको बताए ।

‘भदौ १० गते जुन भोटेकोशीबाट आएको बाढीले नुवाकोट जिल्लाभरि नै धेरै ठुलो क्षति भएको छ । यो हाम्रोलाई एउटा विपत्ति होइन, यो महाविपत्ति हो, उनले भने, ‘त्यो बाढीले हाम्रो यो विदुर नगरपालिकामा सञ्चालित विदुर खानेपानी योजनाको मुहान टोटल्ली भत्काएको छ । साढे सात किलोमिटर पाइपलाइन एरिया यसले नि भत्कायो । त्यसले गर्दा यहाँको लगभग ५ हजार भन्दा बढी घरधुरी र ३० हजार भन्दा बढी व्यक्तिहरूले खाइरहेको खानेपानी योजना बिगारेको कारणले गर्दाखेरि खानेपानीको ठुलो समस्या भयो ।’

उनले खानेपानीको समस्या समाधानका लागि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासङ्घको सहकार्यमा भूमिगत पानी निकाल्ने गहिरो नलकूप योजना सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार गहिरो नलकूपमार्फत पानी निकालेर मुख्य खानेपानीको लाइनमा जोड्ने तयारी भइरहेको छ । यसबाट बाढीका कारण प्रभावित नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ ।

यसैगरी विदुर नगरपालिकाको माझीटारमा रहेको अर्को गहिरो नलकूपसमेत बाढीका कारण बिग्रिएको अवस्थामा रहेकाले त्यसको मर्मत कार्य अघि बढाइएको छ । नगरपालिकाकै अन्य दुई स्थानमा रहेका गहिरा नलकूपबाट समेत पानी निकालेर मुख्य खानेपानीको लाइनमा जोड्ने तयारी भइरहेको छ ।

रेडक्रसले विभिन्न स्थानबाट भूमिगत पानीको व्यवस्थापन गरी मुख्य खानेपानी प्रणालीमा जोड्ने काममार्फत बाढीपछि उत्पन्न खानेपानीको समस्या समाधान गर्ने प्रयास लागि रहेको उनले बताए ।