अर्थतन्त्रको वृद्धिदर घटेर ४ प्रतिशतमा सीमित, उद्योग र कृषि सुस्त

Headlines आर्थिक

विद्युत् क्षेत्रमा २४.३६ प्रतिशत वृद्धि, औद्योगिक उत्पादन १.४४ प्रतिशतले मात्रै बढ्ने अनुमान

काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ४ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा अर्थतन्त्रको वृद्धिदर ४.८ प्रतिशत थियो।

कार्यालयका अनुसार विद्युत् उत्पादन, प्रसारण तथा वितरण, वित्तीय सेवा, बीमा, आवास तथा भोजन सेवामा भएको विस्तारले अर्थतन्त्रको वृद्धिमा योगदान पुर्‍याएको छ। तर सरकारी खर्चमा आएको कमी तथा औद्योगिक र कृषि उत्पादनमा भएको सामान्य वृद्धिका कारण समग्र आर्थिक विस्तार अपेक्षाकृत सुस्त देखिएको छ।

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा १८ औद्योगिक क्षेत्रमध्ये सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रबाहेक १७ क्षेत्रको वृद्धिदर सकारात्मक रहने अनुमान छ। कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेका अनुसार अधिकांश क्षेत्रमा आर्थिक गतिविधि विस्तार भए पनि सबै क्षेत्रको अवस्था समान छैन।

विद्युत् क्षेत्रमा सबैभन्दा उच्च वृद्धि

चौथो त्रैमासमा विद्युत् तथा ग्यास क्षेत्रको मूल्य अभिवृद्धि २४.३६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो क्षेत्र १२.६ प्रतिशतले विस्तार भएको थियो। विद्युत् उत्पादन, प्रसारण तथा वितरणमा भएको वृद्धिले यस क्षेत्रको विस्तारमा योगदान गरेको कार्यालयले जनाएको छ।

यस अवधिमा वित्तीय तथा बीमा क्षेत्र ९.०७ प्रतिशत, आवास तथा भोजन सेवा ७.८४ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्र ७.६६ प्रतिशतले विस्तार हुने अनुमान छ। त्यस्तै यातायात तथा भण्डारण क्षेत्र ६.८१ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्र ५.९७ प्रतिशतले बढ्ने देखिएको छ।

प्रशासनिक तथा सहयोगी सेवा ५.५५ प्रतिशत र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्र ४.७ प्रतिशतले विस्तार हुने अनुमान छ। खानी तथा उत्खनन क्षेत्र ३.३४ प्रतिशत, निर्माण क्षेत्र २.३८ प्रतिशत र घरजग्गा कारोबार २.६८ प्रतिशतले बढ्ने कार्यालयको प्रक्षेपण छ।

कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.३५ प्रतिशत रहने अनुमान छ। शिक्षा क्षेत्र १.३२ प्रतिशत र पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापन क्षेत्र १.४३ प्रतिशतले विस्तार हुने देखिएको छ। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र भने ०.१२ प्रतिशतले संकुचित हुने अनुमान छ।

उद्योग र निर्माण क्षेत्रको विस्तार कमजोर

अर्थतन्त्रमा औद्योगिक उत्पादनको विस्तार कमजोर देखिएको छ। चौथो त्रैमासमा उद्योग क्षेत्र १.४४ प्रतिशतले मात्रै बढ्ने अनुमान गरिएको छ। यद्यपि गत आर्थिक वर्षको सोही अवधिमा उद्योग क्षेत्रको वृद्धिदर ०.३ प्रतिशत थियो।

तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा मौसमी प्रभाव समायोजन गरिएको औद्योगिक उत्पादन ०.४८ प्रतिशतले घट्ने अनुमान छ। निर्माण क्षेत्रको मौसमी प्रभाव समायोजित वृद्धिदर पनि ०.२९ प्रतिशतमा सीमित रहने देखिएको छ।

प्रवक्ता लामिछानेले निर्माण क्षेत्र अझै चलायमान हुन नसकेको संकेत देखिएको बताए। उनले आर्थिक गतिविधि बढाउन सरकारले पुँजीगत खर्च वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए।

अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर पनि १.३५ प्रतिशतमा सीमित हुने अनुमान छ। कृषि तथा वन पैदावार उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको विस्तारमा योगदान पुर्‍याउने कार्यालयको आकलन छ।

मौसमी प्रभाव समायोजन गर्दा आवास तथा भोजन सेवा अगाडि

तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासको मौसमी प्रभाव समायोजित तथ्यांकमा आवास तथा भोजन सेवा क्षेत्र ६.०५ प्रतिशतले विस्तार हुने अनुमान छ। विद्युत् तथा ग्यास क्षेत्र ३.७६ प्रतिशत र खानी तथा उत्खनन क्षेत्र ३.२२ प्रतिशतले बढ्ने देखिएको छ।

यसैगरी शिक्षा क्षेत्र ३.०७ प्रतिशत, थोक तथा खुद्रा व्यापार २.९० प्रतिशत र सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र २.२१ प्रतिशतले विस्तार हुने अनुमान छ। वित्तीय तथा बीमा क्षेत्र २.१० प्रतिशतले बढ्ने देखिएको छ।

तर औद्योगिक उत्पादन ०.४८ प्रतिशतले घट्ने अनुमान छ। घरजग्गा कारोबारको वृद्धिदर ०.६० प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रको ०.७ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्रको ०.७३ प्रतिशत रहने देखिएको छ। कृषि, वन तथा मत्स्य क्षेत्र भने अघिल्लो त्रैमासको तुलनामा १.०८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

समग्र तथ्यांकले विद्युत्, वित्तीय सेवा र पर्यटनसँग सम्बन्धित गतिविधिले अर्थतन्त्रलाई विस्तार गर्न सहयोग गरे पनि औद्योगिक उत्पादन, निर्माण र कृषि क्षेत्रको सुस्तताले आर्थिक वृद्धिमा चुनौती कायम रहेको देखाउँछ।