बाढीपछिको पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह

Headlines आर्थिक

जलवायु उत्थानशील पूर्वाधार र दीर्घकालीन आर्थिक प्राथमिकताका लागि स्रोत परिचालन गर्न आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।

थाइल्यान्डको बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी अर्थमन्त्री वाग्लेले बिहीबार एडीबीका अध्यक्ष मासातो कान्दासँग भएको भेटवार्तामा यस्तो आग्रह गरेका हुन्। उनले विपद्पछिको पुनरुत्थान र पुनर्निर्माणका साथै नेपालको विकास प्राथमिकता अघि बढाउन आवश्यक स्रोत परिचालनमा सहयोग गर्न एडीबी अध्यक्ष कान्दालाई आग्रह गरे।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग पुर्‍याउन आपत्कालीन अनुदान छिटो स्वीकृत गरेकोमा एडीबीप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरे। विपद्का बेला बैंकले देखाएको ऐक्यबद्धता र सहयोगका लागि उनले धन्यवाद दिए।

एडीबी अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताएका थिए। भेटमा नेपालको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र दीर्घकालीन आर्थिक प्राथमिकतासम्बन्धी विषयमा छलफल भएको थियो।

भेटवार्तामा अर्थमन्त्री वाग्लेसँगै भ्रमण दलमा रहेका अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए।