नवरात्रको पाँचौँ दिन आज, नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

Headlines संकृति - सम्पदा

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ ।

धार्मिक मान्यताअनुसार स्कन्दमाताको प्रतिमा सिंहासनमा विराजमान र दुवै हातमा कमलको फूल लिएको स्वरूपमा हुन्छ । स्कन्दमाताको पूजा आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ । यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले नवरात्रभर दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ । पहिलो दिन घटस्थापना गरी जौको जमरा राखेपछि क्रमशः नवदुर्गाका विभिन्न स्वरूपको पूजा गरिन्छ ।

पौराणिक कथाअनुसार स्कन्दमातासँग ऋषि सनतकुमारको प्रसङ्ग जोडिएको छ । शिव र पार्वती ऋषिहरूको सभामा पुगेका बेला ध्यानमा मग्न सनतकुमार नउठेपछि पार्वतीले उनलाई उँट बन्ने श्राप दिएको कथा पाइन्छ । पछि ऋषिको ज्ञान र ब्रह्मचिन्तनबाट प्रभावित पार्वतीले उनलाई पुत्रका रूपमा प्राप्त गर्न चाहेको र सनतकुमारले उनको इच्छालाई स्वीकार गरी जन्म लिएको कथन छ । यही प्रसङ्गसँग स्कन्दमाताको नाम जोडिएको धार्मिक कथा प्रचलित छ ।

नवरात्रको पहिलो दिन घटस्थापनादेखि नवमीसम्म विशेष पूजा आराधना गरिन्छ । नौ दिन पूजा गरिएको प्रसाद र जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ । यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन् ।