नेप्सेमा सामान्य सुधार, घलेम्दी हाइड्रोपावरको कारोबार सर्वाधिक

Headlines बैंक/वित्त

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन सामान्य अंकले घटेको बजार बिहीबार २.३१ अंकले बढेर २ हजार ५७४.६५ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.८१ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२९ अंकले बढेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बुधबार ३ अर्ब ७४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३५४ स्टकको ४३ हजार ८१२ पटकको कारोबारमा ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको १ करोड १२ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीले १८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ता उक्त कम्पनीको शेयरतर्फ आकर्षित भएका हुन्।

त्यस्तै, स्नो रिभर्सको शेयर मूल्य करिब साढे ६ प्रतिशतले बढेको छ। लक्ष्मी भ्यालु फन्ड–२ र मेगा म्युचुअल फन्ड–१ को इकाइ मूल्य पनि ६ प्रतिशतले बढेको छ। कारोबारमा आएको आरबीबी म्युचुअल फन्ड–२ को इकाइ मूल्य भने सर्वाधिक ८.०७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको २६ करोड ६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। हिमाल दोलखा हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढी र पिपुल्स हाइड्रोपावरको १४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूह घटेका छन्। बिहीबार बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको छ।