काठमाडौं । वरिष्ठ बलिउड तथा मराठी अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
पाटेकर बिहीबार बिहान गोवाको डोना पाउलास्थित आफ्नै निवासमा बेहोस अवस्थामा फेला परेका थिए। उनलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकका अनुसार उनलाई करिब ४५ मिनेटसम्म निरन्तर कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) दिइए पनि बचाउन सकिएन। उनलाई बिहान करिब ५ः२० बजे मृत घोषित गरिएको थियो।
चिकित्सकहरूका अनुसार पाटेकरलाई गम्भीर कार्डियक अरेस्ट भएको प्रारम्भिक विवरण आएको छ। यद्यपि, मृत्युको यकिन चिकित्सकीय कारण पुष्टि गर्न मेडिको–लिगल केस (एमएलसी) दर्ता गरी पोस्टमार्टम गरिने भएको छ।
पाटेकरको निधनको खबरसँगै भारतीय फिल्म उद्योगमा शोक छाएको छ। उनी हिन्दी तथा मराठी सिनेमाका प्रभावशाली कलाकारका रूपमा परिचित थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका फिल्ममा उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
अभिनयका अतिरिक्त पाटेकरले निर्देशनमा समेत काम गरेका थिए। उनले ‘प्रहार : द फाइनल अट्याक’ फिल्म निर्देशन गरेका थिए। उनको योगदानका लागि राष्ट्रिय फिल्म पुरस्कार, फिल्मफेयर अवार्डलगायत सम्मान प्राप्त गरेका पाटेकरलाई भारत सरकारले सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरेको थियो।
पाटेकरको निधनसँगै हिन्दी र मराठी दुवै चलचित्र क्षेत्रमा लामो समयदेखि प्रभाव छाडेका एक विशिष्ट कलाकार गुमेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।




