CEO UNDER CUSTODY: प्रभु बैंकका तत्कालीन CEO शेरचन थुनामा, रु.२०.१७ करोड बैंकिङ कसुर मुद्दा

Sticky News बैंक/वित्त

काठमाडौं उच्च अदालत पाटनले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीशद्वय गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले मंगलबार थुनछेक बहसपछि शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

शेरचनमाथि सञ्चालक समितिको पूर्वस्वीकृतिबिना गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको तथा विप्रेषण कारोबारबापत बैंकले प्राप्त गर्नुपर्ने ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ३० पैसा ब्याज प्राप्त नभएको आरोप छ।

बयानका क्रममा शेरचनले पनि सञ्चालक समितिको पूर्वस्वीकृति नलिई पछि अनुमोदन गराउने गरी ऋण प्रवाह गरेको स्वीकार गरेको अभियोगपत्रमा उल्लेख छ।

उनीविरुद्ध कुल २० करोड १७ लाख ६७ हजार ३३४ रुपैयाँ ३० पैसा बिगो कायम गरी बैंकिङ कसुर मुद्दा दायर गरिएको हो। बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पठाएको पत्रका आधारमा अनुसन्धान अघि बढ्दै मुद्दा दायर भएको थियो।