संयुक्त राज्य अमेरिका, क्यानाडासहित ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका आठ राष्ट्रले इरान र उसका सहयोगी समूहले पश्चिमी गोलार्धमा आतङ्कवादी गतिविधि तथा विभिन्न घातक कारबाही सञ्चालन गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध समन्वय र सहयोग बढाउने घोषणा गरेका छन् ।
अमेरिका, अर्जेन्टिना, क्यानाडा, कोलम्बिया, कोस्टारिका, डोमिनिकन रिपब्लिक, गुयाना, पाराग्वे, पेरु तथा ट्रिनिडाड एन्ड टोबागोका सरकारहरूले सोमबार संयुक्त घोषणापत्र जारी गर्दै इरान र उसका सम्बद्ध समूहबाट उत्पन्न भनिएका सुरक्षा चुनौती सामना गर्न आफूहरू एकजुट रहेको बताएका हुन् ।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा सहभागी राष्ट्रहरूले आफ्ना देश र नागरिकलाई यस्ता खतराबाट जोगाउन दृढ रहेको बताउँदै इरान र उसका प्रतिनिधिहरूलाई त्यस्ता गतिविधि रोक्न आग्रह गरेका छन् ।
घोषणामा इरान र उसका सहयोगी समूहले घातक षड्यन्त्र, गैरकानूनी रूपमा कोष सङ्कलन, राजनीतिक हस्तक्षेप तथा पश्चिमी गोलार्धभर विदेशी प्रभाव विस्तार गर्ने अभियानमा संलग्न भएको दाबी गरिएको छ । यस्ता गतिविधिले आतङ्कवादी सञ्जाललाई बलियो बनाउने, कथित विरोधीलाई डर देखाउने, कानूनी तथा प्रशासनिक प्रणाली कमजोर पार्ने र क्षेत्रीय सुरक्षामा चुनौती सिर्जना गर्ने सहभागी राष्ट्रहरूको दाबी छ ।
यद्यपि, सोमबार जारी वक्तव्यमा त्यस्ता आरोपसँग सम्बन्धित कुनै विशेष घटना, सङ्गठन वा कथित षड्यन्त्रको विवरण भने दिइएको छैन । घोषणामा इरानसँग सम्बन्धित घातक गतिविधि तथा षड्यन्त्र रोक्न यसअघि विभिन्न सरकारले कार्यान्वयन गरेका उपायको प्रशंसा गरिएको छ ।
सरकारहरूले यस्ता गतिविधि रोक्न थप उपाय अवलम्बन गर्ने तथा त्यसका लागि आपसी समन्वय र सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । घोषणाले मध्यपूर्वभन्दा बाहिर इरान र उसका सहयोगी समूहका भनिएका गतिविधि सामना गर्न क्षेत्रीय सुरक्षा सहकार्य विस्तार गर्ने अमेरिकी पहललाई पनि अघि सारेको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यो घोषणा गत महिना अमेरिका र पाराग्वेले संयुक्त रूपमा आयोजना गरेको ‘काउन्टरिङ ट्रान्सन्यासनल टेररिज्म फोरम’ पछि आएको हो । उक्त फोरमको उद्देश्य इरानसँग सम्बन्धित भनिएका आतङ्कवादी गतिविधि रोक्न पश्चिमी गोलार्धका सरकारबीच कानून कार्यान्वयनसम्बन्धी सहयोग सुदृढ गर्नु रहेको मन्त्रालयले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले उक्त पहललाई ट्रम्प प्रशासनले पश्चिमी गोलार्धमा सुरक्षा साझेदारी सुदृढ गर्ने व्यापक उद्देश्यको एउटा हिस्साका रूपमा प्रस्तुत गरेको छ । क्यानाडासहित आठ ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रलाई समेटेर जारी गरिएको घोषणाले यसअघि भन्दा व्यापक क्षेत्रीय सहकार्यको स्वरूप लिएको छ ।
वासिङ्टनले तेहरानमाथि सशस्त्र समूहलाई समर्थन गरेको तथा इरानी सरकारी निकाय र सम्बद्ध संस्थामार्फत विदेशमा गतिविधि सञ्चालन वा सहजीकरण गरेको आरोप लगाउँदै आएको छ । इरानले भने अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ । तेहरानले अमेरिकामाथि इरानविरुद्ध भूराजनीतिक उद्देश्य पूरा गर्न प्रतिबन्ध तथा सैन्य दबाब प्रयोग गरेको आरोप लगाउँदै अमेरिकी दाबी खारेज गर्दै आएको छ ।


