काठमाडौं । नेपाल राष्ट्र बैंकले ६० करोड रुपैयाँ अंकित मूल्यका ३० करोड थान २ रुपैयाँ दरका सिक्का निर्माण तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको सूचनामार्फत प्रि–क्वालिफाइड सुरक्षा सिक्का निर्माण कम्पनीबाट सिक्का डिजाइन, निर्माण, आपूर्ति तथा ढुवानीलगायतका सेवा खरिद गर्न बोलपत्र मागेको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत २ रुपैयाँ दरका ३० करोड थान चलनचल्तीका सिक्का निर्माण गरिनेछ। ३० करोड थान सिक्काको अंकित मूल्य ६० करोड रुपैयाँ हुनेछ।
राष्ट्र बैंकले एक चरण दुईवटा खाम प्रणालीबाट बोलपत्र आह्वान गरेको छ। यस प्रक्रियामा सहभागी कम्पनीले प्राविधिक र मूल्य प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा राखेर एउटै बाहिरी सिलबन्दी खामभित्र पेस गर्नुपर्नेछ।
बोलपत्रमा राष्ट्र बैंकले यसअघि प्रि–क्वालिफिकेसन गरेका सुरक्षा सिक्का निर्माण कम्पनी मात्र सहभागी हुन पाउनेछन्। त्यस्ता कम्पनीको सूची यसअघि गत चैत २८ गते ‘द राइजिङ नेपाल’ दैनिकमा प्रकाशित गरिएको राष्ट्र बैंकले जनाएको छ।
सिक्का निर्माणका लागि बोलपत्रसम्बन्धी कागजात राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखा, बबरमहलबाट खरिद गर्न सकिनेछ। बोलपत्रदाताले कम्पनी वा फर्म दर्ताको प्रमाणपत्र, आधिकारिक एजेन्ट भए त्यससम्बन्धी अधिकारपत्र तथा तोकिएको शुल्क बुझाएको बैंक भौचरसहित कागजात खरिद गर्नुपर्नेछ।
बोलपत्र कागजात खरिद गर्ने अन्तिम मिति कात्तिक १७ गतेसम्म तोकिएको छ। कागजातका लागि नेपाली मुद्रामा २० हजार रुपैयाँ शुल्क लाग्नेछ। अमेरिकी डलरमा १३१ र युरोमा ११५ शुल्क तोकिएको छ।
बोलपत्रसम्बन्धी पूर्वबैठक असोज ३० गते दिउँसो १२ बजे राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा आयोजना हुनेछ।
बोलपत्र कात्तिक १८ गते दिउँसो १२ बजेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा प्रत्यक्ष वा कुरियरमार्फत पेस गर्नुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा खोलिने राष्ट्र बैंकले जनाएको छ।
बोलपत्रको वैधता अवधि खोलिएको मितिदेखि १२० दिनको हुनेछ। बोलपत्रदाताले न्यूनतम १ लाख ३२ हजार अमेरिकी डलर बराबरको बोलपत्र जमानतसमेत पेस गर्नुपर्नेछ। यस्तो जमानत बोलपत्रको वैधता अवधिभन्दा थप ३० दिन अर्थात् २०८३ चैत २० गतेसम्म मान्य हुनुपर्नेछ।
राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेको फर्म, संस्था वा कम्पनी तथा त्यस्ता कम्पनीका सञ्चालक वा लगानीकर्ताले नयाँ फर्म, कम्पनी वा संस्था खोलेर बोलपत्रमा सहभागी हुन नपाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले कुनै वा सबै बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्न सक्ने अधिकारसमेत सुरक्षित राखेको छ। बोलपत्रसम्बन्धी विस्तृत सूचना राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहेको छ।
राष्ट्र बैंकले पछिल्लो समय चलनचल्तीमा आवश्यक पर्ने सिक्काको व्यवस्थापनका लागि नयाँ सिक्का उत्पादन प्रक्रिया अघि बढाएको हो। यसअन्तर्गत छनोट हुने कम्पनीले सिक्काको डिजाइन, टकसालमा निर्माण, आपूर्ति तथा सम्बन्धित सेवाको जिम्मेवारी सम्हाल्नेछ।



