महाधिवेशन : सवा ९ बजेबाट बन्दसत्र, १ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय

Headlines राजनीति

काठमाडौं । आइतबारबाट सुरु भएको नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सोमबार दोस्रो दिनको कार्यतालिका सार्वजनिक गरिएको छ । महाधिवेशन व्यवस्थापनका तर्फबाट नेता रमेश धमलाले बन्दसत्र, उम्मेदवारी दर्ता तथा खानपान लगायतका कार्यक्रमबारे जानकारी गराएका हुन् ।

उनका अनुसार सोमबार बिहान ७ः३० देखि ९ बजेसम्म भृकुटीमण्डपस्थित ठूलो हलमा महाधिवेशन प्रतिनिधिहरूका लागि बिहानी खाजाको व्यवस्था गरिएको छ । त्यसपछि बिहान सवा ९ बजेबाट तीनवटा हलमा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा पार्टी सभापतिको प्रतिवेदन पेस गरिनेछ भने त्यसलगत्तै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइने जनाइएको छ । विधानमाथिको छलफलपछि दिउँसो साढे ११ बजे प्रतिनिधिको खानाका लागि समय निर्धारण गरिएको छ ।

यसैगरी महाधिवेशनमा विभिन्न पदका लागि दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दरखास्त दिने समय तोकिएको छ । इच्छुक उम्मेदवार तथा प्रतिनिधिहरूलाई पार्टीको आधिकारिक सर्कुलर बमोजिम आवश्यक तयारीसहित उपस्थित हुन आग्रह गरिएको छ।

कार्यक्रमलाई व्यवस्थित र अनुशासित बनाउन भृकुटीमण्डप कम्पाउन्डभित्र कुनै पनि किसिमका प्रचारप्रसारजन्य पर्चा, पम्प्लेट, पोस्टर, झण्डा तथा ब्यानर लैजान पूर्ण रूपमा रोक लगाइएको छ । महाधिवेशन अवधिभर प्रतिनिधिहरूका लागि बिहान, दिउँसो र बेलुका तीन पटक खाना–खाजाको व्यवस्थापन गरिए पनि बासस्थानको हकमा प्रतिनिधिहरू स्वयंले व्यवस्था मिलाउनुपर्ने र यसमा आयोजकले संयोजनको भूमिका मात्र निर्वाह गर्ने बताइएको छ । व्यवस्थापन पक्षले प्रतिनिधिहरूलाई आवश्यक सूचना म्यासेज तथा मेसेन्जरमार्फत पठाइरहेको उल्लेख गर्दै विगतझैँ यस पटकको महाधिवेशन पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ ।