युवराज थारु पक्राउ गर्न प्रहरीले चलाएको रोचक अप्रेसन

Headlines अपराध तथा सुरक्षा

भैरहवा । तिलोत्तमा नगरपालिका–१० दरखस्वाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा बन्धक बनाएको घटनामा पक्राउ परेका २७ वर्षीय विशाल भन्ने युवराज थारुको विगतको आपराधिक पृष्ठभूमिसमेत खोतल्दै रुपन्देही प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अभियुक्त विगतमा चोरी, अभद्र व्यवहारलगायतका घटनामा संलग्न रहेको तथ्य भेटिएपछि प्रहरीले उनको आपराधिक गतिविधिको विस्तृत विवरण संकलन गर्न थालेको हो ।

१४ गते राती निज बालिका ओछ्यानमा सुतिरहेकै अवस्थामा अपरहणमा परेकी थिइन । परिवारले घरवरिपरि र छरछिमेकमा खोज्दा पनि कतै अत्तोपत्तो नभएपछि घटनाबारे इलाका प्रहरी कार्यालय मंगलापुरलाई जानकारी गराइएको थियो ।

खबर पाउनासाथ राति ३ बजे नै प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थल पुग्यो । बिहानसम्म पनि कुनै सुराक नभेटिएपछि अपरेशनको दायरा फराकिलो बनाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही, लुम्बिनी प्रदेश प्रहरीको सादा पोशाकको टोली, इलाका प्रहरी कार्यालय बुटवल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तालिमप्राप्त कुकुर (डग स्क्वाड) सहितको संयुक्त टोली चक्रवाहाको जंगलतिर खाजी केन्द्रित गरेको थियो ।

चक्रवाहा जंगल—जसलाई स्थानीय र प्रहरीले विगतदेखि नै आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरु लुक्ने सुरक्षित अखडाका रुपमा चिनिन्छ ।

तालिमप्राप्त कुकुर र जासुसी टोली (इन्टेलिजेन्स) ले जंगलका झाडीहरुमा निरन्तर ३८ घण्टा लामो घनीभूत खोजतलासपछि असोज १६ गते बेलुका ५ः३० बजे अन्ततः चक्रवाहा जंगलको घना झाडीभित्र बालिका बन्धक बनाइएको अवस्थामा भेटिएकी थिईन । प्रहरीले बालिकाको सकुशल उद्धार त गर्यो, तर अपहरणकारी भने फेला पार्न सकेको थिएन ।

‘बालिकाको उद्धारपछि पनि प्रहरी टोली जंगलबाट फर्किएन । अपहरणकारीलाई फुत्किन नदिन प्रहरीले रातभर ‘सर्च एन्ड स्विप अपरेसन’ जारी राख्यो,’ चन्दले भने असोज १७ गते प्रहरी टोली जंगल घेरेर बसेको थियो, घेराबन्दी तोडेर भाग्ने प्रयासमा अभियुक्त जंगलबाट बाहिर निस्किए र प्रहरीमाथि नै आक्रामक बने ।’

स्थिति नियन्त्रणमा लिन र अभियुक्तलाई उम्किन नदिन प्रहरीले गोली चलाएको चन्दले बर्ता । गोली अभियुक्तको घुँडामा लागेको र घाइते अवस्थामा नियन्त्रणमा लिइ उनको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी चन्दका अनुसार पक्राउ परेका व्यक्ति पुराना आपराधिक पृष्ठभूमिका हुन् । उनी २०८० सालमा अभद्र व्यवहार मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् । यसबाहेक मोटरसाइकल तथा मोबाइल चोरी र महिला एवं बालबालिकामाथि हुने विभिन्न अपराधमा उनको संलग्नता रहँदै आएको थियो। स्थानीयस्तरमा उनी त्रासको पर्याय बनेका थिए ।

‘उनी महिला तथा बालबालिकाप्रति आसक्त हुने, उनीहरूलाई यातना र उत्पीडन दिने विकृत प्रवृत्तिका व्यक्ति हुन्,’ डिएसपी चन्दले भने, ‘बालिकाको स्वास्थ्य परीक्षण भइरहेको छ । रिपोर्ट प्राप्त हुनासाथ अपहरण र बन्धकसहितका कडा कानुनी सजायको प्रक्रिया अघि बढाउँछौँ ।’

यसैबीच, देवदह–५ मा पनि असोज १७ गते दीपक खरेलसहितका व्यक्तिहरुले पेस्तोलबाट गोली चलाउँदा एक युवक घाइते भएका थिए । प्रहरीले सो घटनामा संलग्न तीनै जनालाई हतियार र दुई राउण्ड गोलीसहित तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

बालिका अपहरण र देवदह गोलीकाण्डका घटना फरक–फरक भए पनि प्रहरीले पुराना आपराधिक रेकर्ड भएका व्यक्तिहरुमाथि अनुसन्धानको सुई सोझ्याएको छ ।

डिएसपी चन्द भन्छन्, ‘अभियुक्तको आपराधिक पृष्ठभूमि हाम्रो अनुसन्धानको मुख्य केन्द्र हो । विगतका गतिविधि, अहिलेको घटनाको प्रकृति र सम्भावित अन्य अपराधसँगको सम्बन्धबारे तथ्य र प्रमाणका आधारमा सूक्ष्म अनुसन्धान गरिरहेका छौँ ।’