रामेछाप । रामेछापको विकट तथा जिल्लाको अन्तिम मानवबस्तीका रूपमा रहेको उमाकुण्ड गाउँपालिकाले नागरिकलाई स्थानीयस्तरमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत सरकारी घुम्ती शिविर सञ्चालन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वय तथा उमाकुण्ड गाउँपालिकाको आयोजनामा सुरु भएको शिविर गाउँपालिकाका सातवटै वडामा सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले जानकारी दिइन् ।
शिविरको सुरुवात उमाकुण्ड गाउँपालिका–१ स्थित हिमाली गाउँ गुम्देलबाट भएको हो । सात दिनसम्म सञ्चालन हुने शिविरअन्तर्गत क्रमशः सबै वडामा पुगेर प्रशासनिक सेवा, राष्ट्रिय परिचयपत्र, योजना तथा राजस्वसम्बन्धी सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
भौगोलिक रूपमा विकट उमाकुण्डका नागरिकलाई जिल्ला सदरमुकाम मन्थली तथा गाउँपालिकाको केन्द्रसम्म पुग्दा लाग्ने समय र खर्चको भार कम गर्ने उद्देश्यले हरेक वर्ष एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै आएको उपाध्यक्ष सुनुवारले बताइन् । विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिलाई स्थानीयस्तरमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।
शिविरमार्फत नेपाली नागरिकताको प्रमाणपत्र वितरण तथा प्रतिलिपि, राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन तथा परिचयपत्र वितरण, व्यवसाय दर्ता तथा नवीकरण, व्यवसाय खारेजी, टोल विकास संस्था दर्ता र पालिकास्तरीय विकास योजनाको सम्झौतालगायतका सेवा एकै स्थानबाट उपलब्ध गराइएको छ । शिविरको पहिलो दिन वडा नं. १ गुम्देलमा ७५ जनाले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । तीमध्ये ६९ जना पुरुष र ६ जना महिला रहेका छन् ।
नागरिकता हराएका वा बिग्रिएका ५६ जनालाई प्रतिलिपि प्रदान गरिएको थियो । त्यस्तै, एक जनालाई ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र उपलब्ध गराइएको थियो । राष्ट्रिय परिचयपत्रतर्फ गुम्देलमा ३७ जनाको विवरण सङ्कलन गरिएको थियो भने यसअघि तयार भएका पाँचवटा राष्ट्रिय परिचयपत्र सम्बन्धित नागरिकलाई वितरण गरिएको थियो ।
स्थानीय विकास निर्माणका कामलाई सहज बनाउन शिविरबाटै २४ वटा पालिकास्तरीय योजनाको सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । यसैगरी तीनवटा नयाँ व्यवसाय दर्ता, छवटा व्यवसाय नवीकरण तथा चारवटा व्यवसाय खारेजीको कामसमेत सम्पन्न भएको थियो ।
त्यस्तै वडा नं. २ बाम्तीमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट पनि स्थानीयले उल्लेख्य सेवा लिएका छन् । बाम्तीमा नयाँ तथा प्रतिलिपि गरी ७३ जनालाई नागरिकता वितरण गरिएको छ । जसमध्ये ३४ जनाले नयाँ नागरिकता र ३९ जनाले प्रतिलिपि प्राप्त गरेका छन् ।
बाम्तीमा राष्ट्रिय परिचयपत्रका लागि ५६ जनाको विवरण सङ्कलन गरिएको छ भने तयारी अवस्थामा रहेका पाँचवटा परिचयपत्र वितरण गरिएको छ । स्थानीय विकास योजनालाई गति दिन शिविर स्थलबाटै १९ वटा योजनाको सम्झौता गरिएको छ ।
उद्योग तथा व्यवसाय प्रवद्र्धनतर्फ तीनवटा नयाँ व्यवसाय दर्ता, एकवटा व्यवसाय इजाजत दर्ता, १५ वटा व्यवसाय नवीकरण र तीनवटा व्यवसाय खारेजी गरिएको छ । साथै तीनवटा टोल विकास संस्था पनि दर्ता गरिएको गाउँपालिकाले जनाएको छ ।
शिविरबाट विभिन्न प्रशासनिक सेवा, व्यवसाय दर्ता तथा नवीकरणलगायतका शुल्कबापत ७८ हजार ८ सय रुपैयाँ राजस्वसमेत सङ्कलन भएको छ । गाउँपालिकाका अनुसार विकट भूगोलका कारण सामान्य प्रशासनिक कामका लागि समेत सदरमुकाम तथा पालिका केन्द्र धाउनुपर्ने अवस्थाबीच गाउँमै सरकारी सेवा पाएपछि स्थानीयवासीले राहत महसुस गरेका छन् । उमाकुण्डका बाँकी वडाहरूमा पनि निर्धारित तालिकाअनुसार शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।



