काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका संस्थाका नाममा दर्ता भएका सवारी साधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ।
समितिले सूचना जारी गर्दै समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मेवारीअनुसार सवारी साधन आफ्नो नियन्त्रणमा ल्याउन लागेको जनाएको हो। सहकारीका नाममा दर्ता भएका वा सहकारीको लगानी तथा सञ्चालनमा रहेका संस्थाका नाममा दर्ता भएका सवारी साधन जहाँ र जुन अवस्थामा छन्, त्यही अवस्थामा समितिको कार्यालयमा बुझाउन भनिएको छ।
ढुवानी प्रयोजनमा प्रयोग भइरहेका सवारी साधनसमेत सम्बन्धित व्यक्ति वा संस्थाले तत्काल समितिलाई बुझाउनुपर्ने सूचनामा उल्लेख छ। सवारी साधन अहिले जसको प्रयोगमा भए पनि समितिको कार्यालयमा ल्याएर बुझाउन आग्रह गरिएको छ।
समितिले निर्देशन पालना नगरे सवारी साधन प्रयोगकर्ता, सम्बन्धित व्यक्ति वा संस्थाको नाममा रहेको घरजग्गा, बैंक खाता तथा लकर र राहदानीसमेत रोक्का राखी प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी दिएको छ।
समितिले सवारी साधन बुझाउनुपर्ने सहकारीको विवरणमा स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड डिपोजिट को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, प्रभु बचत तथा ऋण सहकारी, लु:निभा बहुउद्देश्यीय सहकारी, ओरिएन्टल को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी र कोहिनुर हिल सेभिङ एन्ड क्रेडिटलगायतका संस्था उल्लेख गरेको छ।
त्यस्तै भेगास बचत तथा ऋण सहकारी, पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, तुलसी बहुमुखी सहकारी, शिवशिखर बहुउद्देश्यीय सहकारी र हाम्रो नयाँ कृषि सहकारीका नाममा रहेका सवारी साधनसमेत बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
यसैगरी कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एन्ड क्रेडिट, लालीगुराँस बहुउद्देश्यीय सहकारी, गौतमश्री, गोरखा सेभिङ एन्ड क्रेडिट, नेपाल सहकारी र आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका नाममा रहेका सवारी साधन पनि समितिको कार्यालयमा बुझाउनुपर्नेछ।
समस्याग्रस्त घोषणा गरिएका सहकारीको सम्पत्ति खोजी तथा व्यवस्थापन गर्दै बचतकर्ताको दायित्व भुक्तानी गर्ने प्रक्रियाअन्तर्गत सवारी साधनसमेत समितिको नियन्त्रणमा ल्याउन खोजिएको हो।




