हेटौँडा। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ आवतजावतका लागि त्रिभुवन राजपथमा समय तोकेर सवारीसाधन सञ्चालन गरिने भएको छ। दुवै राजमार्ग बन्द भएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेकाले मकवानपुर प्रशासनले काठमाडौँ र हेटौँटाबाट जाने सवारीका लागि छुट्टाछुट्टै समय निर्धारण गरेको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार शुक्रबार हेटौँडाको चौकीटोलबाट काठमाडौँतर्फ बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सवारीसाधन सञ्चालन गरिनेछ। काठमाडौँबाट हेटौँडातर्फ भने सिमभञ्ज्याङ चौकीबाट साँझ ७ बजेदेखि राति ११ बजेसम्म सवारी सञ्चालन हुनेछ।
शनिबार हेटौँडाबाट काठमाडौँतर्फ बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म सवारी सञ्चालन गरिने प्रशासनले जनाएको छ। काठमाडौँबाट हेटौँडातर्फ शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म तथा असोज ११ गते आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म सवारी सञ्चालन गरिनेछ।
वर्षाका कारण मुख्य राजमार्गहरूमा अवरोध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथमा एकैपटक दुवैतर्फका सवारी सञ्चालन गर्दा थप जाम र जोखिम बढ्न सक्ने भएकाले समय छुट्याइएको प्रशासनले जनाएको छ।
प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका बाहेक १० चक्केभन्दा ठूला र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाएको छ। यात्रुवाहक बसका हकमा ११ मिटर लम्बाइसम्मका सवारीलाई मात्र सञ्चालन अनुमति दिइएको छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले तोकिएको समयतालिकाअनुसार मात्र त्रिभुवन राजपथमा यात्रा गर्न चालक, यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरेका छन्।


