अफगानिस्तानमाथि नेपालले निकाल्यो ५ विकेटको ऐतिहासिक जित

Headlines खेलकुद

नागोया — जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको ऐतिहासिक जित हात पारेको छ। अफगानिस्तानले दिएको १ सय ३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

सन्दीप जोराले ३४ र रोहित पौडेलले अविजित ३३ रन बनाएपछि नेपालले सहज रूपमा लक्ष्य पूरा गर्‍यो। दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए भने गुल्शन झाले पहिलो बलमै विजयी रन जोडे।

यसअघि कुशल भुर्तेलले ४ विकेट र ललित राजवंशीले ३ विकेट लिएपछि नेपालले अफगानिस्तानलाई २० ओभरमा ७ विकेट गुमाएर १ सय २ रनमै रोकेको थियो।

यो जितसँगै नेपालले अफगानिस्तानविरुद्ध १२ वर्षपछि ट्वान्टी–२० मा जित निकालेको छ। नेपालले यसअघि सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानलाई हराएको थियो।

नेपालले अब शनिबार आयोजक जापानसँग समूह ‘ए’को अन्तिम खेल खेल्नेछ। समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन्।