२०८३ आश्विन ८

भोटेकोशी बाढी प्रभावितका लागि सामूहिक धार्मिक संस्कारको व्यवस्था गर्न सांसद लामाको माग

Headlines राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सामूहिक अन्तिम संस्कार तथा धार्मिक विधि पूरा गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावित कतिपय परिवारले आफन्त गुमाएको र जीवित परिवारका सदस्यसमेत अहिले होल्डिङ सेन्टरमा आश्रय लिएर बस्नुपर्ने अवस्था रहेको बताइन्।

बाढीका कारण प्रभावित परिवारसँग आफ्ना दिवंगत आफन्तको धार्मिक तथा सामाजिक संस्कार पूरा गर्ने आवश्यक स्रोतसाधनसमेत बाँकी नरहेको उनले उल्लेख गरिन् ।

‘ भदौ १० गतेको महाविनाशकारी भोटेकोशी बाढीबाट प्रभावित कतिपय परिवारका सदस्य नै गुमेका छन् । जीवित रहेका परिवारहरू पनि अहिले होल्डिङ सेन्टरमा आश्रय लिएर बस्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा उहाँहरूसँग आफ्ना प्रियजनहरूको धार्मिक तथा सामाजिक संस्कार पूरा गर्ने स्रोतसाधन पनि केही बाँकी छैन । आफ्ना नागरिकको धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण गर्नु राज्यको दायित्व हो,’ लामाले भनिन् ।

विशेषगरी हिमाली बौद्ध धर्मावलम्बीको परम्पराअनुसार मृतकको क्रियाकर्मका लागि तीन, पाँच वा सात हप्ताभित्र गेवा तथा शान्ति पाठ गर्ने चलन रहेको उल्लेख गर्दै उनले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सामूहिक अन्तिम क्रियाकर्म तथा गेवा र शान्ति पाठ लामागुरुहरूबाट गर्ने व्यवस्था तत्काल मिलाउन सरकारसँग आग्रह गरिन् ।

उनले भनिन्, ‘विशेषगरी हिमाली बौद्ध धर्मावलम्बीहरूको परम्पराअनुसार मृतकको क्रियाकर्मका लागि तीन, पाँच वा सात हप्ताभित्र गेवा तथा शान्ति पाठ गर्ने चलन छ । त्यसैले भोटेकोशीबाट दिवंगत हुनुभएकाहरूको सामूहिक अन्तिम क्रियाकर्म, गेवा तथा शान्ति पाठ लामागुरुहरूबाट गर्ने व्यवस्था तत्काल मिलाइयोस्। अन्य धर्मावलम्बीहरूका लागि पनि उहाँहरूको धार्मिक परम्पराअनुसार सामूहिक पूजापाठको व्यवस्था गरियोस् ।’

उनले अन्य धर्मावलम्बीका लागि पनि उनीहरूको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार सामूहिक पूजापाठ तथा धार्मिक संस्कारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।