नयाँ सिरिजको १ हजारको नोट आजदेखि चलनचल्तीमा

Headlines अर्थ बैंक/वित्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ सिरिजको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङ परिवर्तन गरी ‘सिरिज २०२५’ को नोट चलनचल्तीमा ल्याएको हो।

नयाँ नोटको रङ बैजनी घेराभित्र फिक्का हरियो रहेको छ। नोटको अग्रभागमा सगरमाथा हिमाल र लालीगुराँसको पानीछाप राखिएको छ। नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

नोटको पछाडिको भागमा चितवनको सरकारी हात्तीसारमा देवकली नामको हात्तीबाट जन्मिएका जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र राखिएको छ। त्यस्तै, सात प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँसका चित्र र हनुमानढोकास्थित ल्होँचोकको ऐतिहासिक थामको आकृति राखिएको छ।

नयाँ नोटमा विभिन्न सुरक्षण विशेषता पनि राखिएका छन्। ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागोमा ‘एनआरबी’ र ‘१०००’ अंक राखिएको छ। सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने उक्त धागोमा चलायमान प्रभावसमेत देखिन्छ।

नयाँ सिरिजको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको राष्ट्र बैंकले जनाएको छ। यसअघि १ हजार रुपैयाँको ‘सिरिज २०१९’ का ६८०००००१ देखि ९१४४०००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको थियो।

राष्ट्र बैंकले बैंकनोट राष्ट्रको सम्पत्ति भएकाले यसको जतन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।