त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो, अरूका नाममा कागजात प्रयोग गरेको खुलेको प्रहरीको भनाइ

समाचार

काठमाडौँ — त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा मृत्यु भएका चालक अर्जुन दोङ तामाङले विभिन्न व्यक्तिका नाममा जारी भएका सवारीचालक अनुमतिपत्र तथा अन्य कागजात प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा चालक तामाङ घाइते भएका थिए। उपचारका क्रममा उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले बताए।

प्रहरीका अनुसार मृतक तामाङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका हुन्। उनको वास्तविक पहिचान अर्जुन दोङ तामाङ रहेको खुले पनि उनले विभिन्न घटनामा अरू व्यक्तिका नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा पनि तामाङ संलग्न रहेको र घटनापछि फरार रहेको खुलेको छ। उक्त घटनामा उनले सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको एसएसपी घिमिरेले बताए।

त्यस्तै, करिब तीन महिनाअघि काठमाडौँको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार भएको घटनामा पनि उनले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीको भनाइ छ। त्रिपुरेश्वरमा बस चलाउँदा पनि दाबा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा मृतकले अरू व्यक्तिको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरेको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ। विभिन्न व्यक्तिका नाममा जारी भएका परिचयपत्र र अन्य कागजात कसरी र कुन प्रयोजनका लागि प्रयोग गरिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए।

प्रहरीले मृतकको वास्तविक परिचय र उनले प्रयोग गरेका विभिन्न कागजातबीचको सम्बन्धबारे अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा प्रयोग भएका कागजात कसरी प्राप्त भए र ती कागजातको दुरुपयोगमा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने पक्षसमेत अनुसन्धानको विषय बनेको छ ।