काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्ने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।
प्रधानमन्त्री शाह आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए।
प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ।
प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री वाग्लेले कार्यवाहक प्रधानमन्त्रीका रूपमा सरकारको नियमित कार्यसम्पादन सम्हाल्नेछन्।


