कृत्रिम बौद्धिकता (एआई) प्रविधिप्रतिको विश्वव्यापी बढ्दो माग तथा अमेरिका र चीनबीच भएको व्यापार तथा एआईसम्बन्धी वार्ताबाट सकारात्मक सङ्केत प्राप्त भएपछि सोमबार अधिकांश एसियाली शेयर बजारमा वृद्धि भएको छ ।
गत साता विश्व शेयर बजारहरू मिश्रित अवस्थामा बन्द भएका थिए । मुद्रास्फीति नियन्त्रणका लागि विभिन्न केन्द्रीय बैङ्कहरूले मौद्रिक नीति कडा बनाउने क्रम जारी राखेका छन् । यसै क्रममा अमेरिकी फेडरल रिजर्भले गत बुधबार ब्याजदर वृद्धि गरेको थियो ।
अमेरिका र चीनका आर्थिक अधिकारीहरूले आइतबार व्यापार र एआईसम्बन्धी विषयमा वार्ता गरेका थिए । उक्त वार्ता बिहीबार वासिङ्टनमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको शिखर भेटअघि भएको हो ।
अमेरिकी अर्थमन्त्री स्कट बेस्सेन्टका अनुसार दुवै पक्षले एआईसम्बन्धी विषयमा नियमित संवादका लागि ‘अमेरिका–चीन एआई संवाद’ नामक संयन्त्र स्थापना गर्ने विषयमा छलफल गरेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले वार्तालाई स्पष्ट, गहन र रचनात्मक भएको बताएका छन् ।
सोमबार कारोबार सुरु भएको करिब एक घण्टापछि हङकङको प्रमुख शेयर सूचकाङ्क करिब शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो । दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित सूचकाङ्क एक दशमलव पाँच प्रतिशतले उकालो लागेको छ भने साङ्घाई शेयर बजार शून्य दशमलव पाँच प्रतिशतले बढेको छ । सार्वजनिक बिदाका कारण जापानको टोकियो शेयर बजार बन्द रहेको थियो भने अष्ट्रेलियाको सिड्नी बजारमा सामान्य गिरावट देखिएको थियो ।
क्विन्टेक्स इन्टेलका विश्लेषक स्टेफन इनेसले ट्रम्प–सी भेटवार्ताका लागि व्यापार, लगानी र कृत्रिम बौद्धिकता विषयमा आधार तयार भइसकेको उल्लेख गर्दै बजारले ठूलो सम्झौताभन्दा पनि दुवै मुलुकले व्यापारिक तनाव थप नबढाउने सङ्केतको प्रतीक्षा गरिरहेको बताएका छन् ।
यसैबीच अमेरिका–इरान द्वन्द्वका कारण अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च रहेकाले विश्वभरका केन्द्रीय बैङ्कमाथि मुद्रास्फीति नियन्त्रणको दबाब बढेको छ ।
जापानको केन्द्रीय बैङ्कले गत शुक्रबार ब्याजदरलाई तीन दशकयताकै उच्च स्तरमा पु¥याएको थियो । यद्यपि, आगामी दिनमा ब्याजदर वृद्धिको गति अपेक्षाभन्दा सुस्त हुन सक्ने अनुमानका कारण येन अमेरिकी डलरको तुलनामा कमजोर बनेको छ । यसअघि यसै महिनामा युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडरल रिजर्भले पनि मौद्रिक नीति थप कडा बनाएका थिए ।
सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेको छ । साउदी अरेबियाले पूर्व–पश्चिम पाइपलाइन अवरुद्ध भएपछि प्रभावित भएको कच्चा तेल आपूर्तिको करिब आधा हिस्सा केही दिनभित्र पुनः सञ्चालन गर्ने अपेक्षापछि मूल्यमा दबाब परेको हो ।
यद्यपि ब्रेन्ट र डब्लुटिआई दुवै प्रमुख कच्चा तेलको मूल्य अझै पनि प्रतिव्यारेल करिब १०० अमेरिकी डलरको हाराहारीमा रहेको छ, जुन अमेरिका–इरान युद्धअघि रहेको स्तरभन्दा उल्लेखनीय रूपमा उच्च हो ।
