भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

Headlines राजनीति

सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रको विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्व अनुभव भएका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको हो।

परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका योग्य र विज्ञ व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गरिएको जानकारी दिएका छन्। सिफारिस भएकाहरूको अब संघीय संसद्को संसदीय सुनुवाइ हुनेछ। सुनुवाइबाट नाम अनुमोदन भएपछि सम्बन्धित मुलुकमा सहमतिका लागि एग्रिमो पठाइनेछ। एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक प्रक्रिया छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा सिफारिस भएका छन्।

त्यस्तै, संयुक्त अधिराज्य (बेलायत) का लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ।

जर्मनीका लागि शरू जोशी, ओमानका लागि पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।

को कहाँ ?

१. निश्चलनाथ पाण्डे — भारत
२. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा — अमेरिका
४. गौरवशम्शेर जंगबहादुर राणा — बेलायत
५. जिग्यानकुमार थापा — जापान
६. सुरेशकुमार कर्ण — इजरायल
७. प्राप्ति शेरचन — स्पेन
८. शरू जोशी — जर्मनी
९. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. संगम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मञ्चला झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया