जेन्जी सांसदलाई प्रधानमन्त्री शाहको सुझाव : राजनीतिसँगै व्यावसायिक आधार बनाऔँ

Headlines राजनीति

प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूलाई राजनीतिलाई मात्र पेशा नबनाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न अग्रसर हुन आग्रह गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउनेतर्फ काम गर्न आग्रह गरेका हुन्।

उनले सांसदहरूलाई आफैं उदाहरण बनेर नवीन सोचका साथ काम गर्न सुझाव दिए। त्यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने र समस्या समाधानमुखी व्यवहार अपनाउनुपर्ने उनले बताए।

प्रधानमन्त्री शाहले पुराना तथा अव्यावहारिक सोच त्यागेर नयाँ ढंगबाट काम गर्नुपर्नेमा जोड दिए। राजनीति जनताको समस्या समाधान गर्ने माध्यम भए पनि त्यसलाई व्यक्तिगत आम्दानीको एकमात्र आधार बनाउन नहुने उनको भनाइ थियो।

उनले राजनीतिसँगै आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्न सांसदहरूलाई आग्रह गरे। यसले उनीहरूलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बन्न र आफ्नै पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सहयोग गर्ने उनले बताए।

अन्तरक्रियामा सहभागी जेन्जी उमेर समूहका सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउने र स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्ने काममा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीसँगको छलफलमा नयाँ पुस्ताका सांसदले जनजीविकाका समस्या समाधानसँगै रोजगारी, प्रविधि र उद्यमशीलतामार्फत युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने विषयमा जोड दिएका थिए।