काठमाडौं — साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक २२.८५ अंकले बढेर २ हजार ६४७.२२ विन्दुमा पुगेको छ। अघिल्लो दिनको वृद्धिलाई निरन्तरता दिँदै बजार बढेको हो। परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३४५ कम्पनीका २ करोड १२ लाख ७२ हजार कित्ता सेयर ६४ हजार ७२ पटकको कारोबारबाट ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँमा किनबेच भएका छन्।
शुक्रबार सेन्सेटिभ इन्डेक्स ५.३२ अंक, फ्लोट इन्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९० अंकले बढेका छन्।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को सूचक बढेको छ भने दुईवटाको घटेको छ। बैंकिङ उपसमूहको सूचक सबैभन्दा धेरै १.५९ प्रतिशतले बढेको छ। जीवन बिमा उपसमूह पनि करिब डेढ प्रतिशतले बढेको छ। वित्त र अन्य उपसमूह भने सामान्य घटेका छन्।
शुक्रबार स्नो रिभर्स लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १३.६६ प्रतिशतले बढेको छ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशत तथा मैलुङ खोला जलविद्युत् कम्पनीको करिब ९ प्रतिशतले बढेको छ।
यता ह्याथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। बिहीबार ५८८ रुपैयाँमा बन्द भएको कम्पनीको सेयर मूल्य शुक्रबार ८८ रुपैयाँ २० पैसाले घटेर ४९९ रुपैयाँ ८० पैसामा झरेको हो। कारोबार सुरु भएदेखि नै बिक्री चाप बढेपछि कम्पनीको सेयर मूल्य नकारात्मक सर्किटमा पुगेको थियो।
कम्पनीका संस्थापक तथा कर्मचारीतर्फको कुल २ करोड ५ लाख ३३ हजार ५ सय कित्ता सेयरको लक–इन अवधि शुक्रबारदेखि सकिएको छ। त्यसमध्ये २ करोड ४ लाख ७५ हजार कित्ता संस्थापक सेयर र ५८ हजार ५ सय कित्ता कर्मचारी सेयर रहेको छ।
लक–इन अवधि सकिएपछि उक्त सेयर कारोबारयोग्य हुने भएकाले बजारमा बिक्रीका लागि उपलब्ध सेयरको आपूर्ति बढ्ने अपेक्षाले ह्याथवेमा बिक्री चाप परेको बजार सहभागीहरूको बुझाइ छ। यद्यपि लक–इन खुलेका सबै सेयर तत्काल बिक्री भएको भन्ने नहुने भएकाले वास्तविक बिक्रीको अवस्था कारोबार विवरण तथा फ्लोरसिटबाट मात्र स्पष्ट हुनेछ।
कारोबार रकमका आधारमा शुक्रबार कुमारी बैंक अग्रस्थानमा रहेको छ। बैंकको ३२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढी र ग्लोबल आइएमई बैंकको २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
अघिल्ला दिनको सामान्य करेक्सनपछि बजारमा पुनः खरिद चाप देखिएसँगै नेप्सेले लगातार दोस्रो दिन वृद्धि कायम गरेको हो। शुक्रबारको कारोबारमा बैंकिङ, जीवन बिमालगायतका ठूला उपसमूह बढ्दा समग्र बजार परिसूचक उक्लिएको छ।


