काठमाडौं। प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित र घाइते नागरिकलाई सहयोग गर्ने उद्देश्यले प्रभु बैंकले देशका सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बैंकले बुधवार काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको हो। बैंकका अनुसार कार्यक्रम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरिएको हो।
कार्यक्रम काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालय, नारायणगढ, विराटनगर, सिमरा, पोखराको अमरसिंहचोक, बुटवल, सुर्खेत र धनगढी शाखामा सञ्चालन गरिएको थियो। कार्यक्रममा सातै प्रदेशबाट ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ।
यसअघि पनि प्रभु बैंकले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित र घरबारविहीन परिवारको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो। बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ समेत सोही कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
त्यस्तै, बाढी प्रभावित परिवारका लागि बैंकले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई १०० थान टेन्ट र १०० थान स्लीपिङ ब्याग हस्तान्तरण गरेको थियो।
प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका प्रयासमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता समेत बैंकले जनाएको छ।


