काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम लगायत पुरै पालिकामा घरपझोङ जलवायु सम्मेलन–२०८३ को तयारीसँगै छुट्टै रौनक छाएको छ । पालिकाको निर्देशन बमोजिम सम्पूर्ण गाउँलेहरूले आ आफ्नो जिम्मेवारी वहन गरेको छ ।
घरपझोङ गाउँपालिकाको आयोजनामा हुने सम्मेलनको तयारीका लागि गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सम्पूर्ण जनप्रतिनिधि साँझसम्म व्यवस्थापनमा व्यस्त रहेका छन् । गाउँपालिकाका कर्मचारीहरू पनि आ–आफ्नो जिम्मेवारी सम्हाल्दै कार्यक्रमको तयारीमा जुटेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत टेम्पोमा सामान ढुवानी गर्दै गाउँपालिकादेखि कभर्डहलसम्म टेम्पोमा सामान ओसारिरहेको दृश्य देखियो । जनप्रतिनिधि र कर्मचारी मात्र होइन, घरपझोङ गाउँपालिकाका स्थानीय बासिन्दा, विभिन्न गाउँका प्रतिनिधि ,समूह तथा क्लबका सदस्यहरू पनि आ–आफ्नो गाउँमा लुङ्ता राख्न, स्वागतद्वार बनाउन तथा अन्य तयारीका काममा दिनभर व्यस्त रहे ।
साँझपख विभिन्न जिल्लाबाट आएका जनप्रतिनिधिहरू पनि घरपझोङ गाउँपालिका प्रवेश गर्न थालेका छन् । कोही होटेलमा त कोही होमस्टेमा बसेका कारण जोमसोम बजार र अन्य गाउँहरू सबैमा पाहुनाहरूले भरिन थालेको छ ।
अझ भन्नुपर्दा, जोमसोम, मार्फा र स्याङमा जडित स्याउको आकृतिसहितका युरोपेली शैलीका सडक बत्ती बल्न थालेपछि बजारको सौन्दर्य झनै बढेको छ । गाउँपालिकाभित्र ललितपुर महानगरपालिकाको सहयोगमा निर्माण गरिएको फाल्चामा झिलिमिली बत्तीले घरपझोङमा आउने पाहुना, सहभागी तथा अन्य आगन्तुकलाई समेत आकर्षित गरेको छ ।
चारैतिर सरसफाइ, सजावट, स्वागतद्वार र लुङ्ताले सिँगारिएको जोमसोम बजार हेर्दा यति बेला बिहेको तयारीमा सजिएकी दुलहीजस्तै देखिन्छ । स्थानीयहरूको उत्साह, जनप्रतिनिधिको सक्रियता र पाहुनाहरूको आगमनले जोमसोममा छुट्टै रौनक छाएको छ ।
मुस्ताङको प्राकृतिक सौन्दर्यबिच सिँगारिएको जोमसोम बजारले भोलिबाट सुरु हुने घरपझोङ जलवायु सम्मेलनको भव्यताको संकेत दिइरहेको छ ।


