एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा औद्योगिक तथा व्यावसायिक नेतृत्व सम्मानित

समाचार

 

काठमाडौं । उद्योग, व्यवसाय, ऊर्जा, बैंकिङ, बीमा, पर्यटन तथा आतिथ्यलगायत क्षेत्रमा नेतृत्व गर्दै आएका व्यवसायी तथा पेशागत व्यक्तित्वहरूलाई एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ मा सम्मान गरिएको छ ।

सिजन मिडियाको आयोजनामा भएको अवार्डको सातौँ संस्करणमा नेपालसहित विभिन्न एसियाली मुलुकका व्यवसायी तथा पेशागत क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको हो । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न समारोहमा उद्योग, व्यवसाय, ऊर्जा, बैंकिङ, बीमा, पर्यटन, आतिथ्य, शिक्षा, पत्रकारिता, कला, उड्डयन, सामाजिक सेवा तथा उद्यमशीलतामा योगदान पु¥याएका व्यक्तित्वलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।्

औद्योगिक तथा व्यावसायिक क्षेत्रमा योगदानका लागि पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड इन इन्डस्ट्रियल लिडरसीप’ प्रदान गरिएको छ । हाइलाइफ एग्रो फुड्स इन्डस्ट्रिजका अध्यक्ष अम्बिका प्रसाद पौडेललाई ‘आउटस्ट्यान्डिङ बिजनेस लिडरसीप अवार्ड’ तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरेलाई ‘इन्डस्ट्रियल एन्ड बिजनेस लिडरसीप अवार्ड’ प्रदान गरिएको आयोजकले जनाएको छ ।

ऊर्जा क्षेत्रतर्फ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निर्वतमान अध्यक्ष तथा बीजी ग्रुपका प्रबन्ध निर्देशक गणेश कार्कीलाई ‘इनर्जी लिडरसीप एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई ‘एक्सिलेन्स इन कर्पोरेट लिडरसीप अवार्ड’ प्रदान गरिएको छ ।

पर्यटन तथा आतिथ्य क्षेत्रको नेतृत्वका लागि होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहलाई ‘हस्पिटालिटी इन्डस्ट्री लिडरसीप एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ‘भिजन लिडरसीप इन अर्बन डेभलपमेन्ट एन्ड पब्लिक सर्भिस अवार्ड’ प्रदान गरिएको थियो । वरिष्ठ पत्रकार तथा लेखक धर्मेन्द्र झालाई बरिष्ठ नेपाली पत्रकारीता पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियाक सर्जन डा. बिश्व पोखरेल, मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, नेपाल एयरलाइन्सकी वरिष्ठ क्याप्टेन भावना पन्त, इना सेन्टरका संस्थापक तथा सीईओ उद्धव बार्तौला, फेसियल हाउसकी अध्यक्ष सुष्मा महरा, कंगारु एजुकेसन फाउन्डेसनका संस्थापकरसीईओ महेशबाबु तिमल्सिना, वरिष्ठ समाचार प्रस्तोता समा थापा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।

यसैगरी जापान, भारत, मलेसिया, बंगलादेश र चीनबाट सहभागी भएका व्यक्तित्वहरूलाई पनि अन्तर्राष्ट्रिय विधाअन्तर्गत अवार्ड प्रदान गरिएको थियो । जापानका वरिष्ठ स्वतन्त्र फोटो पत्रकार नोबोरु ताकाओका, भारतका वरिष्ठ फोटो पत्रकार पुरुषोत्तम दिवाकर, मलेसियाका इन्टरनेसनल ड्रोन एभिएसन फेडरेसनका अध्यक्ष चेओङ क्वेई सेङ, बंगलादेशका अन्डरवाटर फोटोग्राफर शरीफ सरवर, चीनका शिक्षा प्रविधि क्षेत्रका व्यवसायी जोएसन चेन तथा मिडिया तथा सामाजिक सल्लाहकार वेनी काईलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।

आयोजकका अनुसार अवार्डलाई व्यवसाय तथा पेशागत क्षेत्रमा योगदान गर्ने व्यक्तित्वको उपलब्धि र नेतृत्व क्षमताको पहिचान गर्ने मञ्चका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ । नेपाल र अन्य एसियाली मुलुकका व्यवसायी तथा पेशागत व्यक्तित्वलाई एउटै मञ्चमा जोडेर व्यावसायिक सम्बन्ध, सहकार्य र अनुभव आदानप्रदान विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

उनका अनुसार अवार्ड ट्रफी तथा सम्मानपत्रमा मात्र सीमित नभई विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिको मेहनत, संघर्ष, उपलब्धि तथा सामाजिक योगदानको पहिचान गर्ने माध्यम हो । नेपालका प्रतिभा तथा एसियाली मुलुकका व्यावसायिक र सिर्जनशील व्यक्तित्वबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

समारोहमा जापान, भारत, मलेसिया, बंगलादेश र चीनका व्यवसाय तथा पेशागत क्षेत्रका व्यक्तित्वलाई समेत अन्तर्राष्ट्रिय विधाअन्तर्गत सम्मान गरिएको थियो । यसले नेपाली व्यवसायी तथा पेशागत क्षेत्रका व्यक्तित्वलाई क्षेत्रीय स्तरमा जोड्ने र अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारका लागि मञ्च उपलब्ध गराउने आयोजकको दाबी छ ।

कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दा नयाँ पुस्तालाई आफ्नो क्षेत्रमा काम गर्न प्रेरणा मिल्ने बताए । उनले सम्मानित व्यक्तिहरूलाई आफ्नो योगदानलाई थप विस्तार गर्दै समाज तथा राष्ट्रको हितमा काम गर्न आग्रह गरे ।

सिजन मिडियाले आफ्नो १८औँ वर्षको यात्रासँगै अवार्डको सातौँ संस्करण आयोजना गरेको हो । आगामी दिनमा नेपाल तथा विभिन्न एसियाली मुलुकका व्यवसायी, उद्यमी, सञ्चारकर्मी तथा सिर्जनशील व्यक्तित्वलाई एउटै मञ्चमा जोड्ने कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ ।