नैतिक मूल्यमा आधारित नागरिक चेतना र लोकतान्त्रिक संस्कार
तोमनाथ उप्रेती
काठमाडौं । लोकतन्त्र आधुनिक राजनीतिक व्यवस्थाको प्रमुख शासन–पद्धति भए पनि यसको प्रभावकारिता केवल संविधान, निर्वाचन, राजनीतिक दल र संस्थागत संरचनाको उपस्थितिबाट सुनिश्चित हुँदैन ।
लोकतन्त्रको वास्तविक सफलता नागरिकको चेतना, नेतृत्वको नैतिकता, संस्थाहरूको जवाफदेहिता र सामाजिक व्यवहारमा अभिव्यक्त हुने लोकतान्त्रिक संस्कारमा निर्भर हुन्छ । त्यसैले लोकतन्त्रलाई केवल शासन गर्ने प्रविधिका रूपमा बुझ्नु पर्याप्त हुँदैन यसलाई जीवनपद्धति, सामाजिक संस्कार र नैतिक अनुशासनका रूपमा पनि ग्रहण गर्न आवश्यक हुन्छ ।
लोकतन्त्रको संस्थागत संरचनाले अधिकार सुनिश्चित गर्छ । तर नैतिक संस्कारले ती अधिकारको जिम्मेवार प्रयोग सिकाउँछ । संविधानले नागरिकलाई स्वतन्त्रता दिन्छ । नैतिकताले त्यस स्वतन्त्रताको मर्यादा निर्धारण गर्छ । कानूनले व्यवहारको सीमा तोक्छ । विवेकले त्यस सीमाको अर्थ बुझाउँछ ।
यस अर्थमा लोकतन्त्रको स्थायित्वका लागि कानुनी शासनसँगै नैतिक शासन र आत्मअनुशासनको संस्कृति आवश्यक हुन्छ । अध्यात्म व्यक्तिको आन्तरिक चेतना, आत्मबोध, विवेक, करुणा, संयम र जीवनको उद्देश्यसँग सम्बन्धित अवधारणा हो । अध्यात्मले व्यक्तिलाई बाह्य उपलब्धिभन्दा आन्तरिक परिष्कारतर्फ उन्मुख गराउँछ । यसले स्वार्थ, लोभ, अहंकार र असहिष्णुतामाथि नियन्त्रण गर्न प्रेरित गर्छ । लोकतान्त्रिक समाजमा यस्तो आन्तरिक अनुशासनको विशेष महत्व हुन्छ । लोकतन्त्रमा नागरिकलाई व्यापक स्वतन्त्रता प्राप्त हुन्छ । तर स्वतन्त्रता जिम्मेवारीविहीन भयो भने अराजकता उत्पन्न हुन सक्छ । त्यसैले अधिकारसँगै कर्तव्य, स्वतन्त्रतासँगै उत्तरदायित्व र असहमतिसँगै सहिष्णुता आवश्यक हुन्छ ।
श्रीमद्भगवद्गीताले कर्मलाई कर्तव्यसँग जोड्दै निष्काम कर्मको अवधारणा प्रस्तुत गर्छ । यसको दार्शनिक मर्मलाई सार्वजनिक जीवनसँग जोडेर हेर्दा पद, शक्ति र अधिकारलाई व्यक्तिगत लाभभन्दा सार्वजनिक हितका लागि प्रयोग गर्नुपर्ने निष्कर्षमा पुग्न सकिन्छ । उपनिषद्हरूले आत्मचेतना र सत्यको खोजीलाई महत्व दिएका छन् ।
“सत्य” र “आत्मबोध” जस्ता अवधारणाले सार्वजनिक जीवनमा सत्यनिष्ठा, विवेक र आत्मअनुशासनको आधार निर्माण गर्न सक्छन् । तर लोकतान्त्रिक राज्यमा अध्यात्मको प्रयोग कुनै एक धार्मिक विश्वासलाई राज्यको मानक बनाउने अर्थमा हुनु हुँदैन । लोकतान्त्रिक अध्यात्मको आधार सार्वभौमिक मानवीय मूल्य हुनुपर्छ । करुणा, सत्य, अहिंसा, न्याय, सहिष्णुता, मैत्री र सहअस्तित्व सबै समुदायले स्वीकार गर्न सक्ने साझा मूल्य हुन् ।
नैतिकता व्यक्तिको निर्णय, व्यवहार र सार्वजनिक आचरणलाई निर्देशित गर्ने मूल्य प्रणाली हो । सत्यनिष्ठा, पारदर्शिता, निष्पक्षता, उत्तरदायित्व, न्याय, सहिष्णुता र करुणा लोकतान्त्रिक संस्कारका आधारभूत नैतिक मूल्य हुन्।लोकतान्त्रिक संस्थाहरूको औपचारिक संरचना बलियो भए पनि नेतृत्व र नागरिकको आचरण अनैतिक भयो भने लोकतन्त्र कमजोर हुन्छ । भ्रष्टाचार, शक्ति दुरुपयोग, नातावाद, कृपावाद, स्वार्थकेन्द्रित निर्णय र सार्वजनिक स्रोतको दुरुपयोग लोकतान्त्रिक संस्थामाथिको विश्वास कमजोर बनाउने प्रमुख कारण हुन् ।
दार्शनिक इमानुएल कान्टले नैतिकताको आधार व्यक्तिको कर्तव्य र विवेकमा खोजेका थिए । उनका विचारलाई सार्वजनिक प्रशासनमा लागू गर्दा पदमा रहेको व्यक्तिले व्यक्तिगत स्वार्थभन्दा सार्वजनिक कर्तव्यलाई प्राथमिकता दिनुपर्ने हुन्छ । त्यस्तै, जोन रॉल्सको न्यायसम्बन्धी चिन्तनले समानता, निष्पक्षता र संस्थागत न्यायको महत्वलाई उजागर गर्छ । लोकतन्त्रको नैतिक आधार पनि यिनै अवधारणासँग जोडिन्छ ।
लोकतान्त्रिक संस्कारको पहिलो आधार नागरिक चेतना हो । सचेत नागरिकले आफ्ना अधिकार मात्र खोज्दैन । उसले आफ्ना कर्तव्य पनि बुझ्छ । मताधिकार लोकतन्त्रको महत्वपूर्ण अधिकार हो । तर यसको प्रयोग व्यक्तिगत लोभ, जातीय वा सामुदायिक पूर्वाग्रह, क्षणिक भावनात्मक उत्तेजना वा गलत सूचनाका आधारमा गरियो भने लोकतान्त्रिक निर्णयको गुणस्तर कमजोर हुन सक्छ ।
यसकारण लोकतान्त्रिक नागरिकता केवल मतदान गर्ने क्षमतामा सीमित हुनु हुँदैन । यसमा सूचना ग्रहण गर्ने क्षमता, तथ्य परीक्षण गर्ने बानी, फरक विचारको सम्मान, सार्वजनिक बहसमा सहभागिता, कानूनको सम्मान र सामाजिक उत्तरदायित्व समावेश हुनुपर्छ ।
आज डिजिटल प्रविधि र सामाजिक सञ्जालले नागरिक सहभागितालाई व्यापक बनाएका छन् । यसले लोकतान्त्रिक संवादका नयाँ अवसर सिर्जना गरेको छ । तर गलत सूचना, घृणात्मक अभिव्यक्ति, चरित्रहत्या र डिजिटल भीडतन्त्रका कारण नयाँ चुनौती पनि उत्पन्न भएका छन् । यस्तो अवस्थामा नैतिक डिजिटल नागरिकताको विकास लोकतान्त्रिक संस्कारको नयाँ आवश्यकता बनेको छ ।
लोकतन्त्रको गुणस्तर नेतृत्वको नैतिक गुणसँग सम्बन्धित हुन्छ । लोकतान्त्रिक नेतृत्वको उद्देश्य सत्ता प्राप्त गर्नु मात्र होइनस सार्वजनिक विश्वासको संरक्षण र जनहितको प्रवद्र्धन गर्नु हो । नैतिक नेतृत्व पारदर्शी हुन्छ । जवाफदेही हुन्छ । आलोचना सुन्छ । असहमतिलाई शत्रुका रूपमा हेर्दैन । सार्वजनिक पदलाई व्यक्तिगत प्रतिष्ठा वा लाभको साधन बनाउँदैन । निर्णयमा प्रमाण, कानून, न्याय र सार्वजनिक हितलाई आधार बनाउँछ ।
अब्राहम लिंकनको लोकतान्त्रिक आदर्शमा जनताको शासन र जनताप्रतिको उत्तरदायित्व केन्द्रमा थियो । आधुनिक लोकतन्त्रमा पनि नेतृत्वको वैधता निर्वाचनबाट मात्र प्राप्त हुँदैनस त्यसको निरन्तरता नैतिक आचरण र सार्वजनिक विश्वासबाट सुनिश्चित हुन्छ ।
लोकतान्त्रिक राज्यमा सार्वजनिक प्रशासन नागरिक र राज्यबीचको प्रत्यक्ष सम्पर्कको प्रमुख माध्यम हो । नागरिकले राज्यलाई प्रायः प्रशासनिक सेवामार्फत अनुभव गर्छ । त्यसैले प्रशासनको व्यवहारले लोकतन्त्रप्रतिको नागरिक विश्वास निर्माण वा कमजोर गर्न सक्छ । सार्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, पारदर्शी, उत्तरदायी र परिणाममुखी बनाउन कानुनी प्रबन्ध मात्र पर्याप्त हुँदैन ।
प्रशासनिक कर्मचारीमा सार्वजनिक सेवा भावना, व्यावसायिक नैतिकता र नागरिकप्रतिको सम्मान आवश्यक हुन्छ । नातावाद, कृपावाद, चाकरी, पक्षपात र स्वार्थकेन्द्रित निर्णय लोकतान्त्रिक प्रशासनका गम्भीर चुनौती हुन् । यस्ता प्रवृत्तिको नियन्त्रणका लागि योग्यता, पारदर्शी निर्णय प्रक्रिया, हितको द्वन्द्व व्यवस्थापन, प्रभावकारी अनुगमन, सामाजिक उत्तरदायित्व र संस्थागत जवाफदेहितालाई सुदृढ गर्न आवश्यक छ ।
लोकतान्त्रिक संस्कारको दीर्घकालीन आधार शिक्षा हो । शिक्षा केवल ज्ञान, सीप र रोजगारीको माध्यम मात्र होइन । यो व्यक्तिको चरित्र, दृष्टिकोण र मूल्य निर्माण गर्ने प्रक्रिया पनि हो ।
परिवार बालबालिकाको पहिलो सामाजिक पाठशाला हो । त्यसपछि विद्यालय, समुदाय र राज्यका संस्थाहरूले नागरिक चरित्र निर्माणमा भूमिका निर्वाह गर्छन् । सत्य, अहिंसा, करुणा, समानता, न्याय, सहकार्य, वातावरणीय चेतना र सहअस्तित्वजस्ता मूल्यलाई शिक्षाको व्यवहारिक पक्षसँग जोड्न आवश्यक छ ।
“सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः” भन्ने प्राचीन भावले सबैको सुख र कल्याणको कामना गर्छ । त्यस्तै “सर्वजन हिताय, सर्वजन सुखाय” को आदर्शले सार्वजनिक जीवनमा सामूहिक कल्याणलाई प्राथमिकता दिन प्रेरित गर्छ । यी अवधारणालाई आधुनिक लोकतान्त्रिक मूल्य—मानव अधिकार, सामाजिक न्याय, समावेशिता र समानता—सँग संवाद गराउँदै अघि बढाउन सकिन्छ ।
लोकतन्त्र बहुलवादी व्यवस्था हो । समाजमा विचार, भाषा, संस्कृति, विश्वास र जीवनशैलीका विविधता हुन्छन् । लोकतन्त्रको सुन्दरता यही विविधताको सम्मानमा निहित हुन्छ ।असहमति लोकतन्त्रको कमजोरी होइन । त्यो यसको जीवन्तताको प्रमाण हो । समस्या असहमति होइन । समस्या असहमतिप्रति असहिष्णुता हो । त्यसैले लोकतान्त्रिक संस्कारले संवादको संस्कृति विकास गर्नुपर्छ । आलोचनालाई व्यक्तिगत आक्रमण नबनाउने, फरक मतलाई सम्मान गर्ने, कमजोर समुदायको आवाज सुन्ने, बहुमतको निर्णयमा अल्पमतको अधिकार सुरक्षित गर्ने यी नै लोकतान्त्रिक परिपक्वताका सूचक हुन् ।
आधुनिकता, उपभोक्तावाद र तीव्र प्रविधिगत परिवर्तनले जीवनलाई सहज बनाएका छन् । तर यससँगै व्यक्तिवाद, प्रतिस्पर्धात्मक तनाव र स्वार्थकेन्द्रित व्यवहार पनि बढेको देखिन्छ । भौतिक उपलब्धि र नैतिक उपलब्धिबीच सन्तुलन कायम गर्न नसक्दा सामाजिक विश्वास कमजोर हुन सक्छ ।
नेपालको सन्दर्भमा लोकतान्त्रिक संस्कार सुदृढ गर्न विद्यालय तहदेखि नै नागरिक तथा नैतिक शिक्षालाई व्यवहारिक बनाउन आवश्यक छ । सार्वजनिक पदमा आचरणको उच्च मापदण्ड स्थापित गर्नुपर्छ । संस्थागत पारदर्शिता बढाउनुपर्छ । सार्वजनिक निर्णयमा प्रमाण र तथ्यको प्रयोग विस्तार गर्नुपर्छ । डिजिटल माध्यममा जिम्मेवार अभिव्यक्तिको संस्कृति विकास गर्नुपर्छ । राजनीतिक तथा प्रशासनिक नेतृत्वमा हितको द्वन्द्व र शक्ति दुरुपयोग रोक्ने संस्थागत संयन्त्र प्रभावकारी बनाउनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा, लोकतन्त्रलाई राज्यको जिम्मेवारीका रूपमा होइन, नागरिकको साझा संस्कारका रूपमा विकास गर्नुपर्छ ।
लोकतन्त्र संसद्मा मात्र हुँदैन, घरमा हुन्छ । विद्यालयमा हुन्छ । कार्यालयमा हुन्छ । सडकमा हुन्छ । सामाजिक सञ्जालमा हुन्छ । नागरिकको दैनिक व्यवहारमा हुन्छ । अध्यात्मिक चेतना, नैतिक मूल्य र मानवीय संवेदनाविनाको लोकतन्त्र केवल संस्थागत संरचनामा सीमित हुन सक्छ । संविधान आवश्यक छ । कानून अपरिहार्य छ । निर्वाचन अनिवार्य छ । तर यी सबैलाई जीवन्त बनाउने तत्व नागरिक संस्कार र सार्वजनिक नैतिकता हो।अध्यात्मले आत्मअनुशासन सिकाउँछ । नैतिकताले सही र गलत छुट्याउने विवेक दिन्छ । मानव मूल्यले अरूप्रति सम्मान गर्न सिकाउँछ । लोकतन्त्रले यी मूल्यलाई संस्थागत अभिव्यक्ति दिने अवसर प्रदान गर्छ । त्यसैले नेपालको लोकतान्त्रिक भविष्य केवल नयाँ कानून, नयाँ संस्था वा नयाँ नेतृत्वमा निर्भर छैन । त्यो नागरिकको चेतना, नेतृत्वको चरित्र र सार्वजनिक संस्थाको नैतिक विश्वसनीयतामा पनि निर्भर छ ।
सुदृढ लोकतन्त्रका लागि कानूनको शासनसँगै विवेकको शासन, अधिकारसँगै कर्तव्य, स्वतन्त्रतासँगै संयम र विकाससँगै मानवीयता आवश्यक छ । लोकतन्त्र तब मात्र जीवन्त हुन्छ, जब राज्यका संस्थाहरू मात्र लोकतान्त्रिक हुँदैनन्, नागरिकको आचरण पनि लोकतान्त्रिक हुन्छ।लोकतन्त्र शासनको विधि मात्र होइन । यो मानव मर्यादाको अभ्यास हो । यो सहअस्तित्वको संस्कृति हो । यो न्यायको खोजी हो । र, यसको स्थायित्वका लागि अध्यात्मिक चेतना, नैतिक अनुशासन तथा मानवीय मूल्यको समन्वय आजको लोकतान्त्रिक समाजको अपरिहार्य आवश्यकता हो ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुनुहुन्छ)


