भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य

Headlines समाज

रामेछाप । उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए । आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हाइड्रोपावरमा केही वर्ष काम गरेपछि उनी रोजगारीका लागि रसुवा पुगेका थिए । रसुवा हाइड्रोपावर कम्पनीमा कार्यरत ङिमाका दाजु दोर्जे पनि यही क्षेत्रमा काम गर्दै आएका थिए । हाइड्रोको काम उनीहरुको जीवन बनेको थियो ।

तर, गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले परिवारको खुसी एकाएक खोसिदियो । हाइड्रोपावर कम्पनीको कम्पाउन्डभित्र काम गरिरहेका ङिमा बाढीमा बेपत्ता भए । त्यसपछि उनको परिवारमा सुरु भएको पीडा अन्ततः अर्को कहालीलाग्दो घटनामा पुगेर टुंगियो ।

बाढीमा परी ङिमा हराएपछि उनकी आमा डोल्मा याङ्जी शेर्पा छोराको खोजीमा काठमाडौँ पुगेकी थिइन् । छोरा भेटिने आशमा काठमाडौँ पुगेकी ५८ वर्षीया डोल्मा याङ्जीलाई कम्पनीले छोरा अब जीवित भेटिने सम्भावन न्युन रहेको खबर सुनाएर घर फर्काइदियो ।

छोराको मृत्युको खबरले आमाको मन थामिन सकेन । छोरालाई गुमाउँदा डोल्मा याङ्जी गहिरो शोकमा डुबिन् । काठमाडौँबाट घर त फर्किइन् तर घर फर्किएपछि पनि उनले आफूलाई सम्हाल्न सकिनन् । छोराको मृत्यु भएकै निष्कर्षमा परिवार पुग्यो ।

छोराको अन्तिम संस्कार कसरी गर्ने भन्ने विषयमा उनले अर्का छोरा दोर्जे र आफन्तसँग छलफल गरिन् । भदौ १६ गते रातिसम्म सोही विषयमा छलफल भयो । राती अबेरसम्म परिवारसँगै रहेकी उनी त्यसपछि भने घरबाट निस्किइन् । उनले आफूले लगाएका सबै गरगहना घरमै सुरक्षित छाडेकी थिइन् । रातको समयमा एउटा टर्च लाइटको सहारामा घरबाट निस्किएकी डोल्मा याङ्जी त्यसपछि परिवारको सम्पर्कमा आइनन् ।

एकातिर बाढीमा बेपत्ता भएका ङिमाको पीडा, अर्कोतिर आमाको अचानक बेपत्ता हुने घटनाले परिवारमाथि अर्को बज्रपात थपियो । भोलिपल्ट भदौ १७ गते बिहानैदेखि परिवार, आफन्त र स्थानीयले उनको खोजी सुरु गरे । सम्भावित ठाउँमा खोजी गर्दा पनि उनी फेला परिनन् ।

पाँच दिनसम्मको खोजीपछि अन्ततः उनी बसोबास गर्दै आएको स्थानभन्दा निकै टाढा रहेको खोलामा मृत अवस्थामा फेला परिन् । छोराको बिछोडको पीडा सहन नसकेर डोल्मा याङ्जीले समेत संसार छाडेको घटनाले परिवार र आफन्तलाई स्तब्ध बनाएको छ ।

उमाकुण्ड गाउँपालिका–१ गुम्देलस्थित तेछीमकी डोल्मा याङ्जी लामो समयदेखि सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ किन्जामा बस्दै आएकी थिइन् । सोही क्षेत्रतर्फ पर्ने खोलामा उनको शव भेटिएपछि पोस्टमार्टमका लागि सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगिएको थियो ।

पोस्टमार्टमपछि सल्लेरीमा नै शेर्पा परम्परा अनुसार उनको अन्तिम संस्कार गरिएको उनका भाइ पेम्बा शेर्पाले जानकारी दिए । केही दिनको अन्तरालमा एउटै परिवारले भोगेको यो दोहोरो वियोगले बाढीले बगाएको केवल एउटा ज्यानको कथा नभई त्यसले परिवारको मनमा छाडेको गहिरो देखाएको छ । ङिमाको बिछोडमा आँसु झारिरहेकी आमाले पनि अन्ततः संसार छाडेपछि परिवार अहिले अपूरणीय क्षतिका बीच शोकमा डुबेको छ ।