काठमाडौं — साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक २७.९४ अंकले बढेर २ हजार ५५९.४९ विन्दुमा पुगेको छ। अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजार शुक्रबार भने बढेर बन्द भएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएका कमजोरी सुधार गर्दै विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएपछि बजार बढ्न सहयोग पुगेको हो। उनले विगतका गैरजिम्मेवार गतिविधिका कारण पुँजी बजारमा समस्या देखिएको भन्दै अब अवस्था थप बिग्रन नदिने गरी नीतिगत सुधार अघि बढाउने बताएका थिए।
नेप्सेसँगै शुक्रबार कारोबार रकम पनि बढेको छ। बिहीबार ४ अर्ब ९ लाख रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३४५ कम्पनीका १ करोड २० लाख ८९ हजार कित्ता सेयर ४९ हजार ६ पटकको कारोबारबाट ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँमा खरिदबिक्री भएको छ।
शुक्रबार सेन्सेटिभ इन्डेक्स ३.९८ अंकले बढेको छ। फ्लोट इन्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४३ अंकले बढेका छन्।
यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै १०.५३ प्रतिशत बढेको छ। अभियान लघुवित्तको सेयरमूल्य पनि १० प्रतिशतभन्दा बढी बढ्दा सिन्धु विकास बैंकको सेयरमूल्य ९.५ प्रतिशतभन्दा बढी बढेको छ। मल्टीपर्पस फाइनान्सको सेयरमूल्य भने सबैभन्दा धेरै ५.७१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १८ करोड ५० लाख रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको १४ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
शुक्रबार कारोबारमा आएका सबै १३ उपसमूहको परिसूचक बढेका छन्। जलविद्युत् उपसमूह सबैभन्दा धेरै १.८३ प्रतिशत बढेको छ। लगानी र निर्जीवन बीमा उपसमूह १.५ प्रतिशतभन्दा बढी बढेका छन्। विकास बैंक र व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढी बढेका छन्।


